काठमाडौं: नेपाली श्रमिकको गन्तव्य मुलुक साउदी अरेबियाले भिजन २०३० मा नेपालको साथ खोजेको छ । तेल व्यापार गर्दै आएको साउदीले सम्भावित विविध क्षेत्रमा काम गर्ने योजना सार्वजनिक गरेको हो ।
साउदी दूतावासले शनिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सहकार्यमा भिजन २०३० सार्वजनिक गर्दै साउदीले तेल क्षेत्रमा मात्र नभई समग्र क्षेत्रमा लगानी गर्ने योजना सार्वजनिक गरिएको हो । साउदीले श्रमिक मात्र नभई नेपाली लगानीको समेत अपेक्षा गरेको छ। यसका साथै साउदीले नेपालमा समेत लगानी गर्न सक्ने संकेत देखाएको छ।
संघका संयोजक विमल ढकालले साउदीसँग सहकार्य गरेर सहयोग आदानप्रदान गरिने बताए। अब श्रमिक पठाउने मात्र नभई स्वदेशमा लगानी भित्र्याउने र साउदीमा समेत लगानी गर्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा लगानीका संभावना प्रशस्त रहेकाले साउदीलाई लगानी गर्न आग्रह गरिन्। कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर वलीले द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन जोड दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रमिकका अधिकारका लागि कुटनीतिक सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए।