काठमाडौँ — साउदी अरबको पूर्वीक्षेत्र अलकसिममा ४० जना नेपाली श्रमिक अलपत्र परेका छन् । नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरु अलपत्र परेका हुन् । यो समूहमा दुई महिनादेखि दुई वर्षसम्म साउदी पुगेकाहरु छन् । ती नेपालीलाई कम्पनीले काम दिएको छैन । खाना पनि दिइएको छैन ।
४ महिनाअघि साउदी पुगेका जितेन्द्रकुमार महराले अहिलेसम्म ६ सय रियालमात्रै तलब पाएको बताए । उनी सगरमाथा कम्पनीबाट अलअदवावाद कम्पनीमा आएका थिए । ‘चार महिनामा तीन महिनाको तलब दिएको छैन । अब दुई महिनामात्रै परिचयपत्रको म्याद बाँकी छ । तलब माग्दा कम्पनीले तिमीहरु हाम्रो मान्छे होइन, हामी जिम्मेवार छैन भन्छ । हामी अलिकति बढी कराउँदा प्रहरी बोलाइदिन्छ । हामीलाई जसरी भयो पनि उद्धार गर्नुपर्यो,’ उनले भने ।
ती श्रमिकहरु अलहदवा र अलसुल्तान सप्लाई कम्पनीमा आएका हुन् । त्यहाँ भएकामध्ये पुराना श्रमिकको परिचय पत्र (अकामा) नवीकरण भएको छैन । अकामा नभएकाले सप्लाई कम्पनीले काम गर्न पठाएका रोजगारदाता कम्पनीले कामबाट निकालिदिएको छ । उनीहरुलाई सप्लाई कम्पनीले जेद्दा, यन्वु, जुवेलमा पठाएका थिए । त्यस ठाउँबाट निकालिदिएपछि सप्लाई कम्पनीले अलकसिममा ल्याएर राखेको हो ।
नेपाली दूतावास अलकासिमका प्रतिनिधि विशाल श्रेष्ठ पीडितहरुलाई क्याम्पमा नै भेट्न पुगेका थिए । उनले २० जना नेपाली श्रमिकलाई नेपाल पठाउनको लागि एक्जिट पेपर बनाउन श्रम कार्यालयमा प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार दुई जना नेपाली श्रमिकलाई बिहीबार नेपाल पठाइएको छ ।
दुई महिना अगाडि सगरमाथा म्यानपावरलाई दुई लाख ८० हजार रुपैयाँ तिरेर आएका एक श्रमिकले आफूले अझै काम नपाएको बताए । ‘दुई महिनादेखि हामीलाई सुताएर मात्रै राखेको छ । खाना पनि, पैसा दिइएको छैन,’ उनले भने,‘यो कम्पनीमा अझै नेपालबाट आउनेक्रम गरिरहेको छ । दुई सय जना आउनेक्रम जारी छ । काम पनि दिएको छैन । घर पनि पठाएको छैन ।’
पीडितहरुले आफ्नो समस्या समाधान गर्न म्यानपावरले समयमा काम नगरिदिएको बताए । ‘म १० महिना भयो । ६ महिनाको मात्रै तलब दिएको छ । खानाको पैसा पनि दिएको छैन । म्यानपावरको मान्छे साउदीमा नै छ । उसले केही गर्दैन,’ उनले भने ।
पीडितहरुलाई भेट्न क्याम्पमा पुगेका एनआरएनए आरसीसी अलकासिमका प्रवक्ता अली अर्सिन पीडितहरुको उद्धारको लागि पीडित र नेपाली दूतावाससग समन्वय भइरहेको बताए ।