साउदीमा २४ नेपाली अलपत्र

27 Jan, 2023

साउदी : रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न साउदी पुगेका थिए।

‘हामीलाई सुरुमा काम गर्न लगाइयो र १२ महिनासम्म काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसार तलब पनि पाइयो। तर, अचानक एक दिन कार्यरत ठाउँबाट स्तानतरण गरी अर्को ठाउँमा लगिएर राखियो र ३ महिनादेखि बिनाकाम हामीलाई अलपत्र पारियो,’ पीडित भन्छन्, ‘हामीले सम्बन्धित कम्पनीलाई सोध्यौं किन यस्तो गरेको भन्दा तिमीहरूको भिसा सकियो अब यहाँ काम गर्न मिल्दैन तिमीहरू जतासुकै जाने हो जाऔं भनेर रूमबाट निकालिदियो।’

साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिसा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति १ लाख पचास हजारदेखि दुई लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएको पीडितहरूले बताए ।

पीडितका अनुसार कम्पनीले अलपत्र पारेको जानकारी मेनपावर सञ्चालक सापकोटालाई गराउँदा आजभोलि गरेर १ महिनासम्म कतैबाट पनि सुनाइ भएन। पीडितले भने, ‘लगत्तै नेपाली दूतावासमा १४ नोभेम्बर २०२२ का दिन जानकारी गर्यौं र हालसम्म पनि समाधान भएन।’ स्वदेश फिर्ताको लागि भिडियोमार्फत पीडितहरूले नेपाल सरकार र गृहमन्त्री रवि लामिछानेसमेत आग्रह गरे छन्।

अलपत्र पर्नेहरूमा सुरज जिसी चितवन, प्रमोद चौधरी दाङ, जितबहादुर सार्की पाल्पा, प्रदीप पोखरेल रुपैन्देही, मिलन राना मगर लमजुङ, सोनाम खोले सिन्धुपाल्चोक, राजेश सुवेदी सिन्धुपाल्चोक, प्रकाश गुरुङ चितवन, रुमबहादुर घर्ती मगर प्युठान, शम्भू घिसिङ मकवानपुर, सुरज नेपाली गुल्मी छन्। त्यस्तै, सन्दीप श्रेष्ठ अर्घाखाँची, अर्जुन क्षेत्री गुल्मी, राजकुमार श्रेष्ठ अर्घाखाँची,निरन घर्ती मगर रोल्पा, शेरबहादुर थापा पाल्पा, जोगेन्द्र नगरकोटी बर्दिया, दिनेश चौधरी दाङ , सुशिल पुन मगर दाङ,बालकृष्ण रिजाल झापा, बलवहादूर खत्री रूपन्देही, राजन दरलामी मगर कास्की, विष्णु नेपाली पाल्पा, रमेश सुनार पर्वत गरी २४ जना छन्। जसमध्ये हाल ११ जना दूतावासको सेल्टरमा र अन्य कम्पनीको रुममा छन्। जसलाई खानाको व्यवस्था नेपाली दूतावास र नेपाली रेस्टुरेन्ट लालीगुराँसले गर्दै आएको छ।

अन्नपूर्णकर्मीले पीडितबारे दूतावाससँग बुझेपछि दूतावासका अनुसार कम्पनी र सम्बन्धित मेनपावरसँग छलफल गरी तत्काल स्वदेश फिर्ता लैजान अल्टिमेसन दिँदै वैदेशिक बिभागमा सुचना समेत गरेको बताए। ‘पीडितहरूको भिसा नै भिजिट भिसा रहेछ। जसको मिति सकिएको छ। त्यसैले ओभर स्टे हुँदा अन्योलमा छ। नेपाली दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइयो’, दूतावास स्रोतले भन्छ, ‘साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कसरी कामदार भिषा भनि श्रम स्वीकृति दियो अन्योलमा छौं।’

दूतावासका अनुसार टेम्पोररी भिसामा श्रम स्वीकृति जारी हुनु नै गलत भएको छ । भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाइएको पाइयो छ। साउदीको नियमअनुसार भिजिट भिसामा साउदी आउने जो कोहीको पनि अर्कामा कार्ड नबन्ने हुनाले पीडितहरू इलिगल भएका हुन्। साउदी लेवर अफिसमा एक्जिटका लागि प्रोसेस गर्दा टेम्पोररी भिसामा एक्जिट नहुने बताउँदै सम्बन्धित कम्पनीले नै टेम्पोररी भिसालाई रेनुअल गर्नुपर्छ। तर, कम्पनीले आफूले गर्नुपर्ने सबै काम गरेको वताए पनि हालसम्म पनि कुनै समाधान भएको छैन।

पीडितहरूको समस्या समाधानको लागि श्रम सहचारी देवेन्द्र कार्की र टीकाराम उपाध्यायसमेत आवद्ध रहेको र यस्तो केस नेपाली दूतावास र साउदीमा पहिलो घटनासमेत भएकाले उद्धारमा ढिला भएको बताइएको छ । हालसम्म साउदीमा ४ लाख नेपाली कामदारका रूपमा रहेको अनुमान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024