साउदीमा १०८ नेपालीको मृत्यु

29 Jun, 2021

विष्णु घिमिरे

साउदी अरेबिया : कोरोनाबाट साउदी अरेबियामा कार्यरत १ सय ८ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास रियादका अनुसार कोरोनाबाट ८८ जना र वाणिज्य दूतावास जेद्दाका अनुसार २० जना गरी हालसम्म १ सय ८ नेपालीको मृत्यु भएको छ।

दूतावासका अनुसार साउदीमा मृत्यु भएका ३५ जनाको शव नेपाल पठाउन बाँकी रहेको छ। साथै, कोरोना भाइरसबाट मृत्यु भई साउदीमा नै अन्त्येष्टि गरेका ४० भन्दा बढी शव रहेको जानकारी दिएको छ। साथै, दूतावास रियादले १ हजार ९ सय १७ तथा वाणिज्य दूतावास जेद्दाले २८ जना नेपालीलाई स्वदेश फिर्ताका लागि बहिगर्मनको भिसा उपलब्ध गराएको छ।

 साउदीमा कोरोनाको असरले रोजगार गुमाएर अलपत्र परेका छुट्टीको तयारीमा रहेका र छुट्टी सकेर रोजगारका लागि फिर्ता हुने नेपालीहरूको दैनिकी अवस्थालाई मध्यनजर गर्दै साउदीमा रहेका एनआरएन, भ्रातृ संगठन तथा विभिन्न सामाजिक संघसंस्थाहरूले चार्टर्ड उडान बन्द गरी नियमित रूपमा उडान चालू गर्नुपर्ने माग गर्दै दूतावास, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गदै विज्ञप्तिसमेत निकालेका छन्। त्यस्तै, नेपाली श्रमिकको हकहितका लागि दूतावासले कूटनैतिक स्तरमा छलफल गरी नियमित रूपमा उडान हुनुपर्नेमा जोड दिएको छ।

साउदीमा कोरोना तथा अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिक रूपमा बढ्दो छ। हालसम्म ४२ हजार ९ सय ७८ जना नेपाली चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024