भैरहवा — साउदी अरबमा एउटै कम्पनीमा काम गर्ने रूपन्देही कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा र धनुषा जनकपुर नगरपालिका–१७ का रामाशिष यादव सँगै बस्थे । विवादका क्रममा २०१८ सेप्टेम्बर ६ मा यादवको छुरी प्रहारबाट शर्माको ज्यान गयो । घटनामा दोषी ठहर गर्दै साउदीको ताबुक अदालतले २०२० डिसेम्बर २० मा यादवलाई ५ वर्षको कैद तोक्यो । सजाय भुक्तान गर्न २५ दिन बाँकी छ । तर सो अवधिभित्र पीडित परिवारसँग ‘ब्लडमनी’ सम्झौता नभएमा अदालतले यादवलाई मृत्युदण्डको सजाय सुनाउनेछ ।
काठमाडौंस्थित कन्सुलर विभागले गत चैत १२ मा नै जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनी’ मा सम्झौताका लागि पत्र पठाएको हो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनी सम्झौता भए/नभएको लेखेर पठाउन भनेको थियो । आफ्नो एउटा हस्ताक्षरले कसैले मृत्युदण्ड पाउने/नपाउने निर्णय हुने भएपछि अर्याल ठूलो सोचमा परे ।
त्यसपछि दुई परिवारबीच सम्झौता गराउने पहलमा जुटे अर्याल । त्यसपछि धनुषा प्रशासनलाई ‘ब्लडमनी’ जुटाउन पहल गरिदिन अनुरोध गरे । ‘धनुषा प्रशासनसित पटक–पटक कुरा भयो’, अर्यालले भने, ‘यादव परिवारले पनि पहल गरिदिन भन्दै रूपन्देही प्रशासनमा धाए । तर त्यताबाट खासै पहल भएन ।’
उता, पीडित शर्मा परिवार ‘ब्लडमनी’ मा सम्झौता नगर्ने अडानमा थिए । तर जिल्लास्थित निजी क्षेत्र र राजनीतिक दलको सहयोगमा सम्झौताको वातावरण बनाउन कसरतमै लागिरहे सीडीओ अर्याल । ‘मार्ने र मर्न दिने कुरा फरक हुन भनेर पीडित परिवारलाई पनि बुझायौं,’ उनले भने, ‘पाँच वर्ष जेल सजाय काटिसकेपछि यादवलाई मर्न नदिऊँ भनेर मृतकका परिवारसित बारम्बार छलफल गर्यौं ।’ व्यक्तिगत रूपमा पनि अर्यालले धेरैपटक पीडित परिवारसित सम्झौताका लागि पहलकदमी लिए ।
‘परिस्थितिले तपाईंको सिउँदो पुछियो तर, तपाईंको निर्णयले अर्की एक महिलालाई एकल नबनाऊँ भनेर सम्झाएँ,’ अर्यालले भने, ‘नियतिले तपाईंलाई ठग्यो, अब उदार बनिदिनुस् भनेर अनुरोध गरे, महान् व्यक्तिले मात्रै माफी दिन सक्छन् भनेर सम्झायौं ।’ यसमा कञ्चन गाउँपालिका अध्यक्ष र मृतकका दाजु मेघनाथ शर्माले सहयोग गरेको उनले बताए । धेरै पटकको सम्झाइबुझाइपछि पीडित परिवार ५० लाखको ‘ब्लडमनी’ मा सम्झौता गर्न सहमत भए ।
जनकपुरमा १३ धुर जमिन र फुसको घर मात्रै रहेको यादव परिवारले त्यत्रो रकम जुटाउन सक्ने अवस्था थिएन । यादव पत्नी रेनो कुमारीलाई तीन छोरी हुर्काउनै हम्मेहम्मे थियो । सबै जायजेथा बेच्दा पनि मुस्किलले १० लाख जुट्थ्यो । त्यसपछि अर्यालले ‘ब्लडमनी’ जुटाउन रूपन्देहीका व्यवसायीसँग अनुरोध गरे ।
पीडक र पीडित दुवै परिवारको आर्थिक अवस्था नाजुक रहेको र यादव परिवारले ब्लडमनी जुटाउन नसक्ने भएपछि उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सहयोग जुटाउन अग्रसर भए । रूपन्देहीका ३० व्यवसायीले मंगलबारसम्म ३६ लाख २५ हजार, सीडीओ अर्यालले ५० हजार, दुई सहायक सीडीओले २५–२५ हजार, तीन सुरक्षा अधिकारीबाट ७५ हजार रूपैयाँ जुटेको छ । यादव परिवारले पनि १० लाख जोरजाम गरेपछि ४६ लाख २५ हजार ‘ब्लडमनी’ महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शर्माले मंगलबार नै मृतक पत्नी सीताकुमारी शर्मालाई हस्तान्तरण गर्दै सम्झौता गराइएको छ । सम्भवतः बुधबार नै सम्झौताको पत्र कन्सुलर विभागमा पठाइने अर्यालले बताए ।
‘ब्लडमनी’ बुझाउने कार्यक्रममा व्यवसायीका प्रतिनिधि, यादव परिवार, पीडित परिवार, जिल्ला प्रशासन, सुरक्षा निकाय प्रमुख, कञ्चन गाउँपालिका अध्यक्षलगायतको उपस्थिति थियो । ‘रूपन्देहीमा रहेका पीडित परिवारले धनुषाका नागरिकलाई जीवनदान दिनुभएको छ,’ अध्यक्ष शर्माले भने, ‘दुवै परिवारको आर्थिक अवस्था दयनीय छ । यस्तोमा यादव फर्किएपछि परिवारको लालनपालन गर्लान्, पीडित परिवारलाई पनि ब्लडमनीले आर्थिक रूपमा राहत हुन्छ, सामाजिक उत्तरदायित्व सम्झेर सहयोग जुटाएका हौं ।’
उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष श्रेष्ठले आर्थिक अवस्था राम्रो नभएका बेला पनि निजी क्षेत्रका प्रतिनिधिले सामाजिक दायित्व सम्झिएर रकम जुटाएको बताए । ‘एउटा नेपालीले मृत्युदण्ड पाए पनि पीडित परिवारले केही पाउने अवस्था थिएन,’ उनले भने, ‘हाम्रो पहलमा पीडित परिवारले यादवलाई जीवनदान दियो, यो सकारात्मक कुरा हो ।’ अहिले पीडितलाई आर्थिक रूपमा राहत मिलेको र यादवले जीवनदान पाउने अवस्था बनेको भन्दै उनले खुसी व्यक्त गरे । रकम बुझ्ने क्रममा मृतककी पत्नी भक्कानिएकी थिइन् । ‘ब्लडमनी’ मा सम्झौता गरेका पीडित परिवारले प्रतिक्रिया दिन भने मानेनन् । ‘हाम्रो कुनै प्रतिक्रिया छैन,’ मृतकका दाजु मेघनाथले भने, ‘यो विषयमा नबोलौं ।’
जनकपुरबाट आएकी यादव पत्नी रेनो कुमारीले पति फर्किने वातावरण बनेकोमा खुसी व्यक्त गरिन् । यस्तो वातावरण तयार गरिदिएकोमा प्रमुख जिल्ला अधिकारी र पीडित परिवारलाई धन्यवाद दिइन् । उक्त घटनामा पति पक्राउ परेको जानकारी उनले ६ महिनापछि पाएकी थिइन् । त्यसपछि तीन छोरीको पढाइ पनि छुटेको उनले रुँदै सुनाइन् । ‘मेरो जिल्लामा धेरै ठाउँमा पुगेर गुहार मागे,’ उनले भनिन्, ‘कसैले सहयोग गरेनन् ।’
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र व्यवसायी आफ्ना लागि भगवान्सरह भएको बताइन् । रेनो कुमारीका मामा प्रभु यादवले रामाशिष फर्किने आस मारिसकेको अवस्थामा जीवनदान पाउने विश्वास पलाएको बताए । ‘भान्जी र नातिनीको स्याहार गर्नुपरेको थियो,’ उनले भने, ‘रूपन्देहीमा भगवान् पायौं, सीडीओको फोटो लगेर घरमा पूजा गर्छु ।’ प्रशासनले कन्सुलर विभागको आवश्यकताअनुसारका सबै कागजात र फारम भरेर बुधबार पठाउने तयारी भएको जनाएको छ ।