साउदीमा मापसे समस्या

4 Jun, 2012

होम कार्की

बागलुङका रमेश थापाले रक्सी सेवन गरेको अभियोगमा ९ महिना साउदी अरबस्थित रियाद जेलमा बस्नुपर्‍यो । २ महिना सजाय सुनाए पनि उनी थप ७ महिना सजाय भोगेर स्वदेश आइपुगे ।

‘बिदाको दिनमा साथीहरूसँग घुम्न गएको थिएँ, एउटा होटलमा बसिरहेका थिए, त्यहाँ अरू साथीहरू मदिरा सेवन गरेर आएका रहेछन्,’ आफूले नखाएको दाबी गर्ने थापाले भने, ‘हूलमूलमा परियो । केहीलाई त तुरुन्तै छाडियो । आफू भने नौ महिना बस्नुपर्‍यो ।’

 

थापा साउदी गएको सात महिनामै जेल जानुपरेको थियो । ‘कमाउन गएको थिएँ, उल्टै जेल बस्नुपर्‍यो,’ उनले भने, ‘घर आउँदा बिरामी शरीर र रित्तो हात र्फकनु पर्‍यो ।’ रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा रक्सी खानु र बेच्नु दुवै गैरकानुनी काम हुन् । 

 

दूतावासका अनुसार अहिले पनि झन्डै २० जना नेपाली रक्सी सेवन गरेको अभियोगमा जेलमा छन् । उनीहरू आएर र मलाजा जेलमा छन् । ‘यहाँ कुनै अवस्थामा मदिरा सेवन गर्न पाइँदैन,’ श्रम सहचारी चण्डेश्वर आचार्यले कान्तिपुरसँग भने, ‘खानेलाई कम्तीमा दुई महिना जेल राख्ने गरिएको छ । जेल सजाय सकेर पनि धेरै समय राखेको थुप्रै घटना छन् ।’ 

 

रक्सी बनाएर बेच्नेलाई अझ बढी जेल राख्ने र प्रहरीले कोर्रासमेत लगाउने पीडितले कान्तिपुरलाई बताए । ‘मैले दुई कोर्रा भेटेँ,’ एक कामदारले भने, ‘साह्रै पोल्दोरहेछ ।’ रक्सी बनाउने काममा कतिपय भगौडा महिला कामदारसमेत संलग्न रहने गरेको नेपाली दूतावासका प्रतिनिधि नरबहादुर श्रेष्ठले बताए । यस्ता मुद्दामा साउदीले निष्कासन गरेकोलाई साउदीले पुनः काममा आउन रोक लगाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024