तीन साताअघि रोजगारीका लागि साउदी अरब पुगेका तीन नेपाली युवाले परिवारमार्फत आफूलाई कम्पनीले यातना दिएको भन्दै नेपाल फर्काउन माग गरेका छन् । कम्पनीले सहमतिअनुसार काम नदिनुका साथै खान नदिएको र नियमित रूपमा यातना दिन थालेको गुनासो उनीहरूले गरे ।
जनही १ लाख १० हजार रुपैयाँ बुझाएर गएका मोरङ गोविन्दपुर ८ का नवीन्द्र मैनाली, सचिन्द्र साह र जंगबहादुर सार्कीलाई साउदीको मरुभूमि क्षेत्रमा यातना दिएको उनीहरूले फोनबाट बताएको मैनालीका आफन्त राजु तिवारीले जनाए ।
इनोभेटिभ म्यानपावरबाट अफिस ब्वाईका रूपमा मासिक २० हजार तलब हुने भनेर लगिएका तीनै जनालाई मरुभूमि क्षेत्रमा प्रचण्ड गर्मीमा राखेर काममा लगाउने, काम गर्न नमान्दा हरेक दिन यातना दिने गरेको मैनालीलाई उद्धृत गर्दै तिवारीले बताए । ‘हामीलाई नेपाल फर्काइएन भने मर्न पनि सक्छौं,’ उनीहरूले आफन्तलाई भनेका छन् । साउदीस्थित अल आर ट्रेडिङ कम्पनी दमानबरियामा रहेका तीनै नेपालीले तत्कालै नेपाल सरकारलाई जानकारी गराई आफूहरूलाई स्वदेश फर्काउन आग्रह गरेका छन् ।