साउदीमा निधन भएका चौधरीको परिवारलाई आर्थिक सहयोग

20 Mar, 2025

विष्णु घिमिरे

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो।

मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय चौधरी ८ महिनाअघि नेपालमा रहेको गण्डकी ओभरसिजबाट साउदीको दमामस्थित अल दाम अल मुह्राफ अपरेसन तथा मेन्टेनेन्स कम्पनीमा कामदारको रूपमा साउदी पुगेका थिए। उनी दमामको सेकेन्ड सनैयास्थित एक पाइप कम्पनीमा काम गर्थे।

गत मार्च ६ गते बिहीबार राति काम गरी शुक्रबार बिहान खाना बनाएर बेलुकी ड्युटीका लागि टिफिन तयार गरी सुतेको अवस्थामा उनको निधन भएको उनका सहकर्मी सुमन खड्काले जानकारी दिए। खड्काका अनुसार काममा राम्रो छबि बनाएका चौधरीको अकस्मात् निधनको खबरले आफूहरू मर्माहत भएको र उनको परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर कामदार साथीहरूबाट उक्त सहयोग संकलन गरिएको हो।

जीवनयापन गर्नका लागि साउदी आएका चौधरीको निधनपछि मानवीय सहयोगस्वरूप संकलित रकम उनको परिवारसँग छलफल गरी आइतबार इन्जाज रेमिटमार्फत उनकी श्रीमती गीता चौधरीको खातामा हस्तान्तरण गरिएको नेपाली साझा मञ्च साउदीका कोषाध्यक्ष भरत पौडेलले जानकारी दिए।

मृतक चौधरीको शव आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइने नेपाली दूतावासका प्रथम सचिव टीकाराम उपाध्यायले बताए। शवलाई चाँडै स्वदेश फर्काइदिन परिवारले साउदीस्थित विभिन्न संघसंस्था र नेपाली दूतावासलाई आग्रह गरेका छन्। मृतकका घरमा श्रीमती, एक छोरा र एक छोरी छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024