साउदीबाट पुनः श्रम स्वीकृति

10 May, 2023

काठमाडौं, वैशाख २७ गते । साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार २४ गतेदेखि दूतावास रियाद र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।

पुनः श्रम स्वीकृतिको सेवा सुरु भएसँगै साउदीमा रहेका नेपाली श्रमिक करार थप गरेर साउदीमै बस्न चाहेमा रियादमा रहेको दूतावास र महावाणिज्य दूतावास रहेको जेद्दाबाट पुनः श्रम स्वीकृति लिन सक्ने छन् । पुनः श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइन आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

दूतावासमा आवेदन दिनका लागि राहदानी, इकमाको प्रतिलिपि रिइन्ट्री भिसा (छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि उपलब्ध गराउनुपर्ने छ । साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्रका साथै सवारीचालकको हकमा साउदी अरबबाट जारी भएको सवारीचालक अनुमतिपत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ । यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछ । साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता (कफिलको आइडी)को परिचयपत्र, तलब, भत्तालगायत अन्य सेवासुविधा खुलेको करार सम्झौतापत्र र स्वघोषणापत्र पनि पेस गर्नुपर्छ ।

आवेदन दिएपछि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ । यसअघि मलेसिया र कतारमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् । कतारमा रहेको दूतावासले यही वैशाख १२ देखि र मलेसियाले वैशाख १५ देखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिन थालेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने व्यवस्था भए पनि कुनै कागजात वा केही प्रक्रियामा नमिल्दा श्रम स्वीकृति लिनका लागि लागि नेपाल आउनुपर्ने बाध्यता कायम रहेकाले यो समस्या समाधानका लागि दूतावासबाट पुनः श्रम स्वीकृतिको दिन व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालेसँगै विदेशमा श्रम स्वीकृतिबिना बस्ने र सोही क्रममा दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएर पनि सरकारबाट प्राप्त गर्ने आर्थिक सहायताबापतको रकमबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भन्ने हो । सचिव अर्यालले विदेशमा काम गर्ने श्रमिकलाई सकिने बित्तिकै तोकिएको ठाउँ जुन नजिक पर्छ, सोही ठाउँको दूतावास वा महावाणिज्य दूतावासमा अनलाइनमार्फत आवश्यक कागजातसहित आवेदन दिन आग्रह गर्नुभएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024