‘साउदीबाट कहिले नेपाल पठाइदिन्छ ? औषधि खाने पैसा पनि साथमा छैन’

16 May, 2025

काठमाडौँ — साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएका हुन् ।

दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट परमिट) नलाग्दा समस्या देखिएको छ ।

कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । यसै सन्दर्भमा सोलुखुम्बुका बलबहादुर राईसँग कान्तिपुरका होम कार्कीले गरेको कुराकानी :

साउदी अरबको सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा काम गर्न आएको २८ महिना भयो । यो कम्पनीले साउदीको सबैभन्दा ठूलो सरकारी कम्पनी साउदी आराम्कोको तेल उत्पादन, प्रशोधनसँग सम्बन्धित निर्माण र मर्मतसम्भारको काम गर्न हामीलाई पठाउँथ्यो । हामी साउदी आराम्कोमा काम गर्ने हो । तर, तलब सेन्दानले दिन्थ्यो । सेन्दानले साउदी आराम्कोमा श्रमिक सप्लाई गर्ने हो ।

यो कम्पनी निकै ठूलो हो । साउदी आराम्कोको जहाँ-जहाँ प्रोजेक्ट छ । त्यहाँ-त्यहाँ खटाउँथ्यो । हामी स्कापफोल्डरमा काम गर्थ्यो । जब कम्पनीको विस्तारै संकटमा पर्दै गइरहेको हामीले पत्तो नै पाएनौं । जो साथीभाइलाई थाहा थियो, उनीहरू कम्पनी छाडेर हिँड्न थाले । कसैले कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा गएँ । कोही समयमा घर फिर्ता भयो । अहिले हामी ४ सय ६९ जना नेपाली अलपत्र जस्तै छौं ।

हामी इमान्दारीपूर्वक काम गरेर बसिरहेका थियौँ । कम्पनीको सबै कारोबार बन्द भयो । हाम्रो आवासीय भिसा नै नवीकरण भएन । तलब पनि आउन छोड्यो । हामीले फेब्रुअरीसम्म बिनातलब नै काम गर्‍यौँ । त्यसपछि काम बन्द भयो । कम्पनीले घर पठाइदिन्छ भनेर पर्खेर बसेका थियौँ ।

कम्पनीले पठाइदिन्छ भनेर सबैजना चुप नै लगाएर बसेका थियौँ । कम्पनीले तिमीहरूको काम भोलि हुन्छ, पर्सि हुन्छ भन्दै गयो । एक्जिट भिसा (बहिर्गमन अनुमति) लगाउने भन्दै तीन महिना अगाडि २ सय ६ जनाको औंठाछाप नै लिइसकेको थियो ।

६ वटा क्याम्पमध्ये तीन वटा बन्द भइसकेको छ । बाँकीलाई तीन वटा कम्पनीमा ल्याएर राखिदिएको छ । अहिले तलब पाउन ८ महिनाको बाँकी छ । धेरैको हालत राम्रो छैन । खाना समस्या बढ्दै छ । दाल र भात मात्रै खाइरहेको छौं । सागसब्जी देख्न नपाएको महिनौं भयो । यो पनि कहिलेसम्म दिने हो थाहा छैन ।

हामी कमाउन आएको मान्छे आफैं बेरोजगार भएका छौं । घरमा पैसा पठाउन सकेको छैन । यहा दैनिक खर्च गर्न साथमा एक पैसा छैन । गर्मी बढ्दो छ । एसी बनाउने होइन । हामी आफैं क्याम्प सफा गरेर बसिरहेका छौं ।

कतिपय साथी बिरामी पनि पर्न थालेका छन् । औषधि खान पैसा छैन । उपचार गर्न जान परिचय त्र छैन । प्रेसर, सुगरको औषधि खानुपर्छ । जुन दिन भिसा सकियो, त्यो दिनदेखि मेडिकल बिमा सकियो । शतप्रतिशत हामीले नै ब्यहोर्नुपर्छ । तागतिलो खाना छैन । अहिले अवस्था धेरै नै नाजुक नै भइसकेको छ । पानी चिसो पाइँदैन । गर्मी धेरै बढिरहेको छ । बाहिर पानी ट्याङकरबाट ल्याएर हालेको छ । बिहान भरेर ल्याएर बेलुका पिउने हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024