काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा पहिलो चरणमा छानिएका एक हजार जनालाई पठाउन सुरु भएको छ । सोमबार २ पुरुष र ११ महिला गरी १३ जना इजरायल उडेका छन् ।
प्यालेस्टिनी समूह हमाससँग इजरायको द्वन्द्व सुरु भएपछि रोकिएको केयरगिभर जानेक्रम फेरि सुरु भएको हो । इजरायलका लागि योग्यता पुगेर छानिएका ३ हजार ४ सय ६१ जनाको सूचीबाट लक्की ड्रका आधारमा २ हजार १ सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउन सुरु गरिएको हो ।
सोमबार जानेहरूमा शान्ति कार्की, दीपा रिजाल, वेनिमा प्रसाईं, मनीषा थेबे, कुमार राई, प्रेमबहादुर मगर, सपना अधिकारी, सिर्जना खड्का, प्रर्लिना ओली रावत, निशा भुजेल, अनु बरुवल, प्रतीक्षा घिमिरे र सिर्जना सापकोटा छन् । बाँकेकी सपना अधिकारीले इजरायल जाने प्रक्रिया सुरु गरेको सात महिनापछि उड्न पाएको बताइन् । ‘हामीले साउनदेखि नै प्रक्रिया अगाडि बढाएका थियौं । यो हाम्रा लागि सुनौलो मौका हो,’ अधिकारीले भनिन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सरकारी संयन्त्रमार्फत श्रमिक पठाइएको बताए । ‘जीटूजीमार्फत श्रमिक पठाइरहेका छौं । यसलाई आकर्षक गन्तव्यका रूपमा लिइएको छ । यो राम्रो अवसर हो’, पहिलो समूहलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका महानिर्देशक खत्रीले भने, ‘तपाईंहरूले नेपालको इज्जत र प्रतिष्ठाको ख्याल राख्नुहोला । इमानपूर्वक काम गर्नुहोला । तपाईंहरूको कामले अरू दाजुभाइ, दिदीबहिनीले धेरै अवसर प्राप्त गर्नेछन् ।’
नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले इजरायलमा नेपालीले सम्मानजनक व्यवहार पाउने बताए । ‘यो भर्ना प्रक्रियालाई सफल बनाउन इजरायल र नेपालले धेरै मिहिनेत गरेका छन् । साहसी नेपालीलाई इजरायलले स्वागत गर्नेछ,’ उनले भने, ‘निर्धक्कका साथ काम गर्ने वातावरण हुन्छ ।’ उदयपुरका प्रेमबहादुर मगरले सरकारी प्रक्रियामार्फत जाँदा धेरै सहज भएको बताए । ‘अहिले दलालको बिगबिगी छ । सरकारबाट जाँदा कतै पैसा बुझाउनु परेन ।
कोही दलाल खोज्नु परेन,’ उनले भने, ‘हामी जस्तो निम्न वर्गका लागि धेरै राम्रो प्रक्रिया हो । बिनालगानी क्षमताअनुसार रोजगारी पायौं ।’ उनले इजरायल जाँदा हवाई टिकटसहित १ लाख ७० हजार खर्च भएको बताए । ‘सबैभन्दा बढी टिकटमा १ लाख ४८ हजार ९ सय रुपैयाँ पर्यो । त्यसपछि मेडिकल, ब्रिटिस काउन्सिलको परीक्षा, श्रम स्वीकृति, बिमा, सामाजिक सुरक्षा कोषमा गरी २० हजार रुपैयाँ खर्च भयो,’ उनले भने ।
दीर्घकालीन स्याहार केन्द्रमा सबैभन्दा बढी नेपाली १३ सय ४५ जना कार्यरत छन् । उनीहरूले आफूहरू सुरक्षित रहेको बताउँदै आएका छन् । केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । इजरायलमा करिब १४ हजार दीर्घकालीन स्याहार केन्द्र छन् । गत भदौमा इजरायलले भारतबाट पाँच हजार केयरगिभरसहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।