‘सरकारले ट्रकमा खाँदेर अलपत्र छोड्यो’

16 Apr, 2020

कलेन्द्र सेजुवाल

सुर्खेत — बाँके प्रशासनले ट्रकमा हालेर सुर्खेतको सीमा क्षेत्रमा छाडेपछि १५ जना मजदुर बबईमा अलपत्र परेका छन् । उनीहरुलाई सुर्खेत प्रशासन र कर्णाली प्रदेश सरकारले पनि भित्र्याउन मानेको छैन ।

बबई प्रहरीका अनुसार उनीहरुलाई सोमबार र मंगलबार ल्याएर छोडिएको हो । अलपत्र पर्नेमा ७ जना दैलेखका, ५ जना सल्यानका र ३ जना जुम्लाका छन् । दैलेखको डुंगेश्वर गाउँपालिका–३, रेक्चाका हृदयबहादुर बुढामगरले कोहलपुरबाट मालसामान बोक्ने मिनीट्रकमा हालेर बबईमा छोडिएको बताए । उनीसहित ७ जनाको समूह रुपन्देहीको सैनामैनाबाट कोहलपुरसम्म आइपुगेको थियो ।

‘ट्रकमा हालेर भए पनि आफ्नो प्रदेश आयौं भन्ने लागेको थियो, तर यहाँबाट अघि बढ्न दिएनन्,’ उनले भने, ‘राम्रोसँग खाना खान पनि पाइएको छैन, सुत्ने कुरा त टाढाको भयो ।’

रामेछापबाट आइपुगेका सल्यानको बनगाडकुपिन्डे नगरपालिका–६ का थलबहादुर वलीले ट्रकमा हालेर बीच बाटोमा छोड्दा झन् बिचल्ली भएको बताए । ‘यति टाढाबाट कष्ट सहेर त आइयो, अहिले झन् दुःख भएको छ,’ उनले भने, ‘हाम्रो लागि त सरकार पनि रहनेछ जस्तो लागेको छ, ट्रकमा खाँदेर अलपत्र पार्ने सरकारको के भरोसा मान्नु ?’ 

बबई प्रहरीको व्यवहारले उनीहरुलाई थप दुःखी बनाएको छ । प्रहरीले सुर्खेततिर जान रोक्नुका साथै दुर्व्यवहार गरेको टोलीमा रहेका एक व्यक्तिले बताए । ‘भोकभोकै छौं, सुत्न पनि पाएका छैनौं,’ उनले भने, ‘प्रहरीले माया गर्नुको साटो झन् पशुवस्तुजस्तो व्यवहार गर्दा दुःख लागेको छ ।’ 

अलपत्र परेका व्यक्तिलाई भेरीगंगा नगरपालिकाका बबईमा रहेका कार्यपालिका सदस्य खिमबहादुर बिकले खाना र बासको व्यवस्था गरेका छन् । सीमामा ल्याएर छाड्ने बाँके प्रशासन र आफ्नो प्रदेश प्रवेश गर्न नदिने कर्णाली सरकार तथा सुर्खेत प्रशासन सबैको रबैया गलत रहेको उनले बताए । 

सुर्खेत जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले आफ्नो जिल्लामा अलपत्र अवस्थामा भेटिएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुको साटो सीमा क्षेत्रमा ल्याएर छोड्नु गलत भएको बताए । ‘नेपाल सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत निशेध गरेको छ,’ ती अधिकृतले भने, ‘तर बाँके प्रशासनले भेडाबाख्रालाई जसरी ट्रकमा कोचेर सीमामा छोडिदिएको छ, उनीहरुको स्वास्थ्यको जिम्मा कसले लिने ?’ 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने ट्रकमा हालेर छोडेको अस्वीकार गर्दै बरु बबईमा छोडेकालाई फिर्ता ल्याउन निर्देशन दिइएको बताए । ‘हामीले कुनै पनि गाडी आवतजावत गर्न दिएका छैनौं, त्यस्ता सवारीलाई जफत गरेका छैनौं,’ उनले भने, ‘ती व्यक्तिलाई हामीले लिएर छाडेका होइनौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024