सरकारले अफगानिस्तानस्थित युएनमा काम गर्ने नेपालीलाई घर आउन दिने

16 Apr, 2020

सरकारले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ (युएन) का विभिन्न कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिने भएको छ। 

बुधबार साँझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उनीहरूलाई नेपाल ल्याउन दिने निर्णय गरेको हो। 

‘अफगानिस्तानमा रहेका युएनअन्तर्गत काम गरिरहेका नेपाली नागरिकहरू उद्धार गर्न युएन एजेन्सीबाट  अनुरोध भएर आएको छ,’ बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले भने,‘युएनसँगको समन्वयमा नेपाली नागरिकलाई उद्धार गर्नेतर्फ उपयुक्त उपाय अपनाइने छ।’ 

अफगानिस्तानमा दर्जन बढी नेपाली राष्ट्रसंघीय कार्यालयहरूमा काम गर्छन्। उनीहरूलाई स्वदेश फर्काउन राष्ट्रसंघले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पहल गरिदिन आग्रह गरेको थियो। दिल्लीको नेपाली दूतावासले अफगानिस्तान पनि हेर्छ। 

‘उहाँहरूले आफैं जहाज चार्टर्ड गरेर अधिकारीहरूलाई नेपाल पठाउँछौं भन्नुभएको छ। हिजो यसबारे सरकारले निर्णय गरेको सुनेका छौं,’ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले सेतोपाटीसँग भने,‘औपचारिक निर्देशन आएपछि  प्रक्रिया सुरू गर्छौं।’ 

चार्टर्ड फ्लाइट गर्न दुबै देशमा उडान अनुमतिदेखि बीचमा पर्ने देशमा पनि आकाश प्रयोग गर्न अनुमति लिनुपर्छ। 

ओडारीका अनुसार युएनको जहाजमा राष्ट्रसंघमा काम गर्ने अधिकारीहरू मात्र आउने छन्। 

‘युएनमा काम गर्ने अफिसियल्सहरूलाई मात्र ल्याउने हो, अफगानिस्तानमा काम गर्ने अरू नेपालीलाई होइन,’ उनले भने।  

सरकारले अफगानिस्तानमा काम गर्न जान  रोक लगाएको छ। तर गैरकानुनी हिसाबले सयौं नेपालीहरू काम गर्न अफगानिस्तान पुगेका छन्। त्यहाँ पुगेका नेपालीहरू विदेशी कूटनीतिक नियोग र अफगानिस्तानका खटिएका विदेशी सैनिक शिविरमा काम गर्छन्। 

पछिल्लो समय अफगानिस्तानका कोरोना भाइरसका संक्रमित थपिँदै गएका छन्। बिहीबारसम्म त्यहाँ ७ सय ८४ जनामा कोरोना देखिएको छ भने २५ जनाको मृत्यु भएको छ।  

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024