युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना। आजका दिनमा हरेक राजनीतिक पार्टी र नेताहरूको शक्तिको स्रोत भनेकै युवा हुन्। युवा राजनीतिक दल र नेताहरूका मेरुदण्ड हुन्।
मुख्य राजनीतिक दलहरूले नारामा युवा, युवा भन्छन्। तर व्यवहारमा युवाहरूलाई प्राथमिकतामा राखिएको पाइँदैन। जब चुनाव आउँछ, पुरानै अनुहार दोहोरिन्छन्। युवालाई चुनावमा टिकट दिइदैन । त्यसैको विरुद्ध पछिल्ला स्थानीय तहमा स्वतन्त्रहरूले उम्मेदवारी दिएको पाइन्छ। काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारहरूले जितेपछि संघीय चुनावमा पनि स्वतन्त्रको लहर आएको छ।
युवा हो, यो संसार तिमीहरूको हो– चिनियाँ क्रान्तिका नायक माओत्से तुङले भनेका थिए। वास्तवमा युवा भनेका ठूलो जिम्मेवारी बोकेका, समाज परिवर्तन र देशको मुहार फेर्ने मेरुदण्ड हुन्।
युवाहरूबिना मुलुकको समृद्धि असम्भव छ। नेपालकै स्रोत तथा साधनको उपयोग र संरक्षण, सम्वद्र्धन र विकास गर्न युवाहरूको जरुरत छ। तर राज्यले ठोस नीति नल्याउँदा बाध्यताले गर्दा युवाहरू पलायन हुन बाध्य छन्। हरेक दिन त्रिभुवन विमानस्थलमा एक हजारभन्दा बढी युवाहरू हातमा पाससोर्ट च्यापेर बाहिरिँदा नमीठो दृश्य कहिलेसम्म हामीले हेरिरहनुपर्ने हो?
म जति युवा भेट्छु, गहिरो नैराश्यता भेट्छु। जसरी पनि विदेशिन खोजिरहेको भेट्छु। देशमै केही गरौँ भन्ने युवा भेट्नु निकै दुर्लभ भइसकेको छ। युवाहरूबिना देशको आर्थिक समृद्धि सम्भव नै छैन। देशमै गर्न सकिने अवसर र सम्भावनाहरू पनि सुरुवात हुन सकेका छैनन्। एकातर्फ युवा विदेश पलायन हुनु, अर्कातर्फ कृषियोग्य भूमि बा“झो रहनाले उत्पादन ठप्प छ। देशमा रोजगारको वातावरण छैन।
जसका कारण दैनिक खाद्यवस्तु,सेवा, कृषिजन्य सामग्री, पशुपक्षी, लत्ताकपडा र अन्य आवश्यकताहरूमा परनिर्भर बन्नुपर्ने बाध्यता छ। आत्मनिर्भर व्यवसायको संरक्षण र सुचारु साथै सक्षम युवालाई स्वदेशमै रोजगारमूलक अवसर सिर्जना गर्न युवा नेताहरू र युवा अग्रसर हुनुपर्छ। देशमा युवा पलायन, परनिर्भरता र बढ्दो युवा बेरोजगारी छ।
यस्तो विकराल समस्यालाई समयमै रोक्न युवालाई उद्यमशीलता, स्वरोजगार, आत्मनिर्भर व्यवसायतिर प्रोत्साहन गर्न ढिलो भइसकेको छ। नेपालीबीच आर्थिक असमानता र व्यापार घाटालाई समयमै सन्तुलन गर्ने महत्वपूर्ण जिम्मेवारी पनि आजका युवाकै हातमाआएको छ। तर यस्ता गम्भीर र दीर्घकालीन विषयमा युवालाई समन्वय गर्ने प्रभावकारी निकायहरू कहाँ“सक्रिय छन्?
युवाले कल्पना गरेको मुलुक
नेपालमा युवाले परिकल्पना गरेकोभन्दा नितान्त फरक दृश्य छ। हामीले चाहेको मुलुक भनेको सुशासनसहितको समृद्ध मुलुक हो। सुशासन कायम रहेका देशहरूले विधि र व्यवस्थाको पूर्णपालना, कानुनी शासनको पालना गरेका छन्। जवाफदेहिताले आज उनीहरूसम्पन्नताको पहिचान बनाएका छन् । ती देश धनी र सम्पन्न हुनुमा एक पुस्ताले पसिना बगाएको थियो।
शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूह भन्ने बुझिन्छ। यो जमात जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह हो। युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो।
युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेका देखिन्छ। हरेक मुलुकको विकास र प्रगति र समृद्धिमा युवाको भूमिका महत्वपूर्ण हुने गर्छ।तर नेपालमा धेरै कारणले देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन।
पहल
नेपालमा युवा विकासका लागि २०६६ सालमा पहिलोपटक र २०७२ सालमा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो। त्यसलाई प्रभावकारीरूपमा लागु गर्ने उद्देश्यले २०७२ सालमा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो। यो दस्ताबेज मिति २०७२ असोज १९ गते मन्त्रिपरिषद्बाट स्वीकृत पनि भयो।
यसरी नेपालमा पहिलोपटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोस कार्ययोजनासहितको दस्ताबेजका रूपमा युथभिजन रहेको छ। यसको निर्माण गर्दा सरोकारवालाहरूसँग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक–फरक तरिकाले परिभाषित गरेका पाइन्छ। संसारका विभिन्न देशको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ। अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बीचमा कायम गरिएको पाइन्छ भने संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ। नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो।
नेपालका राजनीतिक पार्टी र सामाजिक संघ÷संस्थाहरूले पनि आफ्नो अनुकूलतामा युवाको परिभाषा गर्दै आएका देखिन्छ। राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ र आउने दशकमा यो प्रतिशत अझै बढ्ने निश्चित छ। यो नेपालका लागि जनसांख्यिक लाभको समय हो।
नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजनमा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ। पहिलो समूहका युवालाई शिक्षा, व्यक्तित्व र सिप विकासको चरण मानिएको छ भने दोस्रो समूहलाई व्यवसाय, स्वरोजगार र आयआर्जन गर्ने समयका रूपमा परिभाषित गरिएको छ।