सडकको बास, चाउचाउको भर

17 Apr, 2020

हरिराम उप्रेती

गोरखा — के खाने, कहाँ बस्ने ठेगान छैन । पुग्नु छ बर्दिया । मजदुरीका लागि बारपाक आइपुगेका शिव चौधरीले झोलामा चार वटा चाउचाउ कोचे, अनि तय गरे एक हप्ते बर्दियासम्मको पैदल यात्रा ।

उनीसँगै बारपाकबाट हिँडेका ११ मजदुर पहिलो दिन छेवेटारको प्रतिक्षालयमा आएर बास बसे। ‘एउटा तन्ना छ, ओड्ने ओछ्याउने त्यही हो,’ उनले भने, ‘राति सुत्दा पनि घर सम्झिएर हिँडुहिँडु लागिरहन्छ, जहाँ सुते पनि निद्रा त कहाँ पर्नु।’ लकडाउनले पसल बन्द हुँदा खाना खान नपाएको उनले बताए। ‘दोकान खुले चाउचाउ खाने, बाटोमा धारा भेटिए बोतलमा पानी भर्दै हिँडेका छौं,’ उनले भने, ‘कहिल्यै नपाएको दु:ख अहिले भोग्दै छौं।’

मजदुरी गरेको पैसा र भएका रासन पनि सकिएपछि घर फर्कनुको विकल्प नरहेको उनीसँगै रहेका आभाष चौधरीले बताए। ‘कमाउन आएको, भएका पैसा पनि सकिँदै गयो, काम पनि छैन,’ उनले भने, ‘गाडी कहिले खुल्ने पत्तो भएन, अरुको गाउँमा सधैं बसेर पनि के खाने।’ सात दिने यात्रामा रहेका आभाषलाई हिँडाइको पिरलोभन्दा पनि घरबाट आउने आमाको फोनले मन छटपटिन्छ। ‘आमा, बुबाले कहाँ आइपुगिस् भनेर छिनछिनमा फोन गर्नुहुन्छ,’ २१ वर्षीय आभाषले भने,‘बाटोमा थकाइ मार्न पनि मन मान्दैन, मनमा कुरा खेल्छ कतिखेर घर पुगुम् भनेर। थकाइ मार्न पनि नबसी हिँडिरहेका छौं।’

बारा कलैया घर बताउने इज माउल अन्सारी बाइक ग्यारेजमा मिस्त्री काम गर्न करिब डेढ महिनाअघि मात्र गोरखाको घ्याम्पेशाल आइपुगेका थिए। काम सुरु गरेको एक हप्तामै लकडाउन भयो। ‘साहुले ३ गतेसम्म लकडाउन खुल्छ यहीँ बस भनेर बसेको। खुलेन, दुई हजार दाम दिएर घर जाउ भन्नुभयो,’ विरेन्चोकमा भेटिएका उनले भने, ‘खल्तीमा दुई हजार दाम छ, घर पुग्न कम्तीमा पाँच दिन हिँड्नुपर्छ, यो पैसाले चाउचाउसम्म खान पुगीदियो हुन्थ्यो।’

बिहीबार मात्र सिरानचोक गाउँपालिका विद्यालय भवन, भूकम्प पछिको घर पुनर्निर्माणका लागि आएका जानकी गाउँपालिका–७ कैलालीका ६० मजदुर पैदल हिँडेर घर फर्किए। यीनै मजदुरलाई गोरखा प्रवेशद्वारको मजुवामा प्रहरीले बिहीबार राति पौने एक बजे रोक्यो। पासको व्यवस्था गर्न पहल गर्दा पनि बेवास्ता भएपछि पैदलयात्रा गरेको मजदुर बताउँछन्। हिँडेर जान खोज्दा पनि ठाउँ–ठाउँमा प्रहरीले रोक्दा झनै समस्या परेको उनीहरुको गुनासो छ। ‘मजदुरलाई फिर्ता पठाउन पासको लागि पहल गर्‍यौं, प्रशासनबाट पासको व्यवस्था गर्न नसक्ने भन्ने जानकारी आयो,’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने, ‘बस्नुस खानाको व्यवस्था गर्छौं भन्दा पनि मान्नुभएन, पैदलै जान्छौं भनेपछि रोक्न सकेनौं।’

भूकम्पपछिको पुनर्निर्माण र विकासका कामका लागि आएकाहरु फर्कने क्रम बढेसँगै गोरखा आबुखैरेनी सडकमा लाम लागेको छ। बाँके, बर्दिया, कैलाली, बारालगायतका जिल्लाबाट आएका मजदुर हिँडेरै घर फर्कन थालेका हुन्। बिहीबार मात्रै झण्डै डेढ सय मजदुर जिल्लाबाट पैदल बाहिरिएका छन्। ‘जुन ठाउँमा हुनुहुन्छ त्यही बस्नुस्, खाद्यान्नको व्यवस्था पनि गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘पास पनि इमरजेन्सीलाई मात्र दिने भनिएको छ, मजदुरहरु घर जाने हुन्, फाट्टफुट्ट गइरहेका छन्, रोक्न सकिएन।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024