श्रम स्वीकृति लिने पाँच लाख नाघे

19 May, 2022

सीता शर्मा

काठमाडौँ, जेठ ४ गते । चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच बढेको र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नौ हजार ४३० पुगेको छ । यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिको तुलनामा लगभग तीन गुणाले बढी हो ।

चालू आर्थिक वर्षकै चैतको तुलनामा वैशाख महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । विभागका अनुसार चैत महिनामा ५९ हजार ४६१ जनाले श्रम स्वीकृति लिएकोमा वैशाखमा ४५ हजार पाँच जनाले श्रम स्वीकृति लिएका छन् । स्थानीय तहको निर्वाचनका कारण श्रम स्वीकृति लिने घटेको हुनसक्ने अनुमान गरिएको छ ।

आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए भने सोही आर्थिक वर्षको पहिलो १० महिनामा एक लाख ५२ हजार युवाले श्रम स्वीकृति लिएका थिए । आव २०७६/७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागको तथ्याङ्क छ ।

कोभिड–१९ का कारण पहिलो पटक २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) गरिएको थियो । त्यसपछिका दिनमा वैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिएका र बिदामा आएर फर्किन लागेका सबै रोकिएका थिए । कोरोना महामारीकै कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारी निकै प्रभावित भएको थियो ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले कोभिड–१९ विरुद्धको खोपको पहुँच सहज भएको र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण वैदेशिक रोजगारीमा जाने युुवाको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षको पहिलो १० महिनामै श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या २०७५/७६ को पूरै वर्षको भन्दा बढी भएको छ । चालू आर्थिक वर्षको दुई महिना बाँकी रहेकाले यो सङ्ख्या छ लाखबाट उकालो लाग्ने देखिएको छ ।”

विभागका अनुसार आव २०७४/७५ मा वैदेशिक रोजगारीका लागि दुई लाख ८८ हजार ८०९ जनाले श्रम स्वीकृति लिएर गएका थिए । यो वर्ष विदेश जानेको सङ्ख्या घट्नुको मुख्य कारण भिसा र हवाई टिकट निःशुल्क हुनु र मलेसियाको रोजगारी बन्द हुनु रहेको बताइन्छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन गुणाले बढ्नु विप्रेषण आप्रवाह वृद्धिको सकारात्मक सङ्केत भएको बताउनुभयो । विगत तीन वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि अबका दिनमा बढ्ने अनुमान गरिएको छ । वैदेशिक रोजगार कार्यालय, काठमाडौँका प्रमुख रमेश अर्यालले पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपछि वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो ।

सरकारले राजधानीसहित देशभरका सात श्रम कार्यालयबाट श्रम स्वीकृति लिने व्यवस्था गरेका कारण श्रम स्वीकृति लिन सहजसमेत भएको छ । प्रमुख अर्यालले सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

विगत तीन आर्थिक वर्षमा प्रमुख सात श्रम गन्तव्य कतार, संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा भने सबैभन्दा बढी घटेको भए पनि हाल ती देश जानको सङ्ख्या बढ्दो देखिएको छ । कतार, साउदी आरब र यूएई जाने नेपालीको सङ्ख्या शतप्रतिशतले बढेको पाइएको छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपाली सङ्ख्या एक वर्षमा शतप्रतिशत वृद्धि भएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024