भोजराज भण्डारी
श्रम स्वीकृति लिएर गएका श्रमिकले मात्र १० प्रतिशत सेयर आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले श्रम स्वीकृति लिएर गएकालाई मात्र आरक्षित सेयर दिने व्यवस्थासहितको विनियमावली तथा निर्देशिका अर्थ मन्त्रालयमा पठाएको छ ।
बोर्डका उपकार्यकारी निर्देशक रूपेश केसीका अनुसार सर्वसाधारण लगानीकर्ताका लागि छुट्याउँदै आएको ३० प्रतिशत सेयरबाटैै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइनेछ । केसी भन्छन्, ‘बोर्डको उद्देश्य भनेको अहिलेको अवस्थामा रेमिट्यान्स भिœयाउनु हो र रोजगारको सिलसिलामा गएका व्यक्तिले पनि सेयरको अधिकार सुनिश्चित गरून् भन्ने हो ।’
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीको संख्या कम्तीमा ३० लाख रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार हाल चालू आर्थिक वर्षभित्रमा करिब ६ लाख १० हजारले श्रम स्वीकृत लिएका छन् ।
बोर्डले दिएको जानकारीअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका सबै नेपालीले प्रक्रिया पुर्याएर आवेदन दिन सक्नेछन् । आरक्षित सेयरभन्दा बढीका लागि आवेदन परेमा गोलाप्रथाबाट छानिनेछ । केसीले भने, ‘सबैलाई पर्छ भन्ने होइन, १० प्रतिशत पाउने सेयरमा जतिको आवेदन पर्छ, त्यसमा गोलाप्रथाबाट छानिनेछन् ।’
अर्थ मन्त्रालयमा पेस गरेको विनियमावली मन्त्रिपरिषद्बाट पास भएपछि आधिकारिक रूपमा कार्यान्वयनका लागि अघि बढ्ने बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । हमालका अनुसार विनियावलीलाई बोर्ड बैठकबाट पास गरिसकेको र अब मन्त्रिपरिषद्बाट पास भएपछि त्यसलाई अघि बढाइनेछ । हमालले भने, ‘हाम्रो उद्देश्य नयाँ आर्थिक वर्षबाट यसको सम्पूर्ण काम सकेर भदौको अन्तिमबाट सेयर छुट्याउने भन्ने हो, त्यसका लागि छिटो–छिटो काम गर्न भनेको छु ।’
बोर्डका अनुसार अब वैदेशिक रोजगारीमा गएकालाई सेयर छुट्याउन थालेपछि सर्वसाधारणका लागि २० प्रतिशत सेयर मात्र निष्कासन गरिनेछ । श्रम स्वीकृत लिएका श्रमिकले आवेदन दिनका लागि बोर्डबाट पनि सिफारिस हुनुपर्नेछ । त्यसका विभिन्न मापदण्ड हुन्छन्, ती सबै मापदण्ड पूरा गरेर मात्र आवेदनका लागि योग्य हुने बोर्डको भनाइ छ । बोर्डले बनाएको वैदेशिक रोजगारमा साधारण सेयर आवेदन दिनका लागि बनाइएको निर्देशिकामा वर्षमा एक लाख रुपैयाँसम्मको रेमिट्यान्स पठाएको हुनुपर्ने उल्लेख छ ।
आरक्षण लागू भएसँगै सेयर आरक्षणमा वैदेशिक मुद्रा ल्याउने नयाँ अभ्यास पनि हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण छुट्याउने निर्णयलाई गैरआवासीय नेपाली संघले पनि स्वागत गरेको छ । संघका महासचिव गौरीराज जोशीले आरक्षण छुट्याउँदा पारदर्शी, सहज खरिद–बिक्री गर्न सक्ने वातावरणसमेत निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले आरक्षण छुट्याएर सही निर्णय गरेको छ, यसलाई बढाउँदै जानुपर्छ, रेमिट्यान्स भिœयाउनका लागि यो आरक्षण एक कोसेढुंगा साबित हुनेछ ।’
कसरी खोल्ने डिम्याट खाता ?
वैदेशिक रोजगारीमा रहेकाहरूले प्राथमिक सेयर निष्कासनका लागि सेयर भर्न सुरुमा डिम्याट खाता र मेरो सेयरको अनलाइन फाराम भर्नुपर्ने हुन्छ । छुट्याइने कोटाअनुसार मात्र सेयर भर्नुपर्ने हुन्छ । मेरो सेयर खाता अनलाइन फाराम भरेर पनि खोल्न सकिने व्यवस्था गरिने बोर्डको तयारी छ । यस्तो खाता खोल्दा ग्राहक पहिचान विवरण पनि आवश्यक पर्छ ।
वैदेशिक रोजगारीमा रहेकासँग पहिलो चरणमा भिडियो कलबाट उनीहरूको आफ्नो व्यक्तिगत विवरण लिइने योजना बोर्डको छ । पछि रोजगारीमा रहेकाहरू नेपाल फर्किएको समयमा डिम्याट खोलिएको संस्थामा एकपटक उपस्थित हुनुपर्ने गरी बोर्डले नियम बनाएको छ ।
भिडियो कलमा देखाइएको दस्तावेज सही भए–नभएको प्रविधि (आर्टिफिसियल इन्टलिजेन्स–आइए)ले पत्ता लगाउँछ । डिम्याट एकाउन्ट खोलिसकेपछि भने अहिले सर्वसाधारणले जसरी नै वैदेशिक रोजगारीमा गएकाहरूले पनि आफ्नो सेयर खाताको जानकारी पाउन मेरो सेयर एपको प्रयोग गर्न सक्नेछन् ।