थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले आकर्षक तलब सुविधा प्राप्त हुने प्रलोभनमा परेर श्रम स्वीकृतिबेगर कम्बोडिया, लाओस, थाइल्यान्डलगायतका देशमा नआउन आह्वान गरेको छ।
सोमबार विज्ञप्ति जारी गरी दूतावासले त्यहाँ पुगेका नागरिकको उद्धारका लागि वडा कार्यालय वा कन्सुलरमार्फत जानकारी गराउन पनि परिवारजनसँग आग्रह गरेको छ।
‘विभिन्न प्रलोभनमा परी कुनै पनि नेपाली नागरिक उल्लिखित मुलुकमा अलपत्र परेको वा त्यस्ता समूहको बन्धनमा रहेको अवस्था भएमा निजको उद्धारका लागि पीडितको राहदानी, नागरिकता, भिसालगायतका कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालयमार्फत वा सीधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरी विभागले जानकारी गराएअनुसारको प्रक्रिया पूरा गरी उद्धार कार्यमा सहयोग गरिदिनु हुन नेपाली राजदूतावास बैंकक सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।
निवेदन दिँदा पीडित रहेको स्थान, सम्पर्क नं, निजसँग हाल राहदानी भए–नभएको, भिसा वैध भए–नभएकोलगायतका विषयहरू स्पष्ट खुलाउन दूतावासले आग्रह गरेको छ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पनि दूतावासले आह्वान गरेको छ। दूतावासले अघिल्लो साता मात्रै बैंककबाट उद्धार गरेर २० जना नेपालीलाई स्वदेश फर्काएको थियो।