श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

26 Apr, 2024

काठमाडौँ, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताउनुभएको हो ।

उहाँले बैठकमा बोल्र्नुहुँदै श्रम स्वीकृती प्रदान गर्ने कार्य एक घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एक घण्टामा दिँदा प्रक्रिया नपु¥याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए । सांसदहरुले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरु अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए ।

त्यसपछि बोल्नुहुँदै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गर्नुभयो । उहाँले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने दुई मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गर्नुभयो । उहाँले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहिएको बताउनुभयो ।

‘‘श्रम स्वीकृति एक घण्टामा हुँदाखेरी कतै मान्छे एकदम धेरै गएर झन उता गएर दुर्घटना हुने हो कि भन्ने कुराहरु यहाँहरुले राख्नुभयो । सबै प्रक्रियाहरु उहाँहरुले छुट्टै गर्नुहुन्छ बाहिरै । मेडिकल सहि छ कि गलत छ, श्रम स्वीकृति दिने मान्छेले चेक गर्ने अधिकार पनि छैन र त्यो क्षमता पनि हुँदैन । मेडिकल व्यवसायीले, अस्पतालले यो मान्छे निरोगी छ भनेर पठाए पछाडि हामीले मेडिकल गरेको छ कि छैन हेर्नु बाहेक श्रम स्वीकृति दिने ठाउँबाट अन्य अधिकार छैन ।,’’ मन्त्री अर्यालले भन्नुभयो, ‘‘आवश्यक कागजपत्र पुगेको छ कि छैन भनेर हेर्नेभन्दा बाहेक श्रम स्वीकृति दिने अधिकारीसँग अरु अधिकार छैन । स्वास्थ्य व्यवसायीले सही काम गरेको छ कि छैन अनुगमन गर्ने कुरा, मेनपावर व्यवसायीले सही काम गरेका छन् कि छैनन् अनुगमन गर्ने कुरा, अभिमुखीकरण तालिम दिनेहरुले सही काम गरेको छन् कि छैनन् अनुगमन गर्ने कुरा त्यो हामी गर्न सक्छौँ । तर श्रम स्वीकृति भनेको सम्पूर्ण डकुमेन्ट पुरा छ र ओरिजिनल छ । डुप्लिकेट छैन । त्यसकारण यो मान्छेलाई श्रम स्वीकृति दिन उचित छ । भनेर त्यहाँबाट दिने भएको कारणले यसलाई छिटो र छरितो गरेको हो । सातै प्रदेशबाट श्रम स्वीकृति दिइराखेका छौँ । खासै भन्नुपर्दा एक घण्टा पनि होइन । दुई मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ हामीले । उहाँहरुलाई एकघण्टा समय दिएर नबिग्रियोस् भनेर हो । दुई मिनेट ४४ सेकेण्डमै भइराखेको छ ।’’

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भए पनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024