श्रमिकहरूको प्रमुखमध्येको एक गन्तव्य मुलुक साउदी अरेबिया नेपालसँग द्विपक्षीय श्रम सम्झौताका लागि तयार भएको छ। श्रम सम्झौतासँगै घरेलु रोजगारीमा महिला कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अडानसमेत कायम राखेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबिच साउदीको रियादमा भएको द्विपक्षीय बैठकमा श्रम सम्झौताका विषयमा सहमति भएको श्रम मन्त्रालयले जानकारी गराएको हो। साउदीले नेपालसमक्ष साधारण श्रमिक, घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमसँग सम्बद्ध सम्झौता गर्ने प्रस्ताव गरेको छ।
श्रम मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले साउदी नेपालसँग श्रम सम्झौताका लागि सहमत भएको जानकारी दिए। ‘नेपाल र साउदीबिच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘साथै साउदीका अधिकारीहरू श्रम सम्झौता गर्न तयार भएका छन्।’
श्रम सम्झौताका लागि नेपाल र साउदी अधिकारीहरूले बनाएको मस्यौदामा सहमति भएको बोहराले जानकारी दिए। ‘साउदीमा नेपाली श्रमिकले भोग्नुपरेका समस्यालाई पनि हामीले उठाएका छौं। यस विषयमा साउदी सरकार सकारात्मक छ, तर साउदीले नेपालसमक्ष घरेलु रोजगारीमा महिला कामदार पठाउन प्रस्ताव गरेको छ। यस विषयमा नेपालमा छलफल गरेर मात्रै अघि बढ्न सकिने जवाफ श्रममन्त्रीले दिनुभएको छ’, बोहराले नागरिकसँग भने।
दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाइने छ। उनका अनुसार साउदीमा विभिन्न क्षेत्रमा कामदार लैजाने प्रस्ताव गरेका छौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) को ऐनअनुसार श्रम सम्झौता गर्ने तयारी भइरहेको छ।
दुवै देशबाट करिब–करिब टुंगो लागेको छ। अब छिट्टै नेपाल र साउदीबिच श्रम सम्झौता हुने उनले बताए। ‘हामीले राखेका मस्यौदामा परराष्ट्रलगायत सबैको सकारात्मक निर्णय आएको छ’, उनले भने, ‘अब मार्चसम्ममा नेपाल र साउदीबिच श्रम सम्झौता हुन्छ होला भन्नेमा हामी पुगेका छौं।’
साउदीसँग २०६५ मा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफताव आलमले श्रम सम्झौताका लागि पहिलोपटक छलफल गरेका थिए। २०६८ मा नेपाली पक्षको मागबमोजिम साउदी अरेबियाले नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौता भने अहिलेसम्म भएको थिएन।
२०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ। साउदीसहित अन्य खाडी मुलुकको दबाबका कारण असार २०७२ मा सरकारले २४ वर्ष पुगेका नेपाली महिला वैदेशिक रोजगारीमा जान सक्ने गरी वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७२ जारी गरेको थियो। सोही वर्ष सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगायो।
साउदीले नेपालबाट घरेलु कामदारसम्बन्धी सम्झौता गर्ने मात्र रुचि राख्दै आएको छ। यसअघि श्रम सम्झौताका लागि पाँचपटक मस्यौदा तयार भए पनि साउदी अरेबियासँग भने श्रम सम्झौता हुन सकेको छैन। २०७६ सालको अन्तिमतिर साउदीले घरेलु श्रमिक आपूर्तिबारे छुट्टै श्रम समझदारी गर्न प्रस्ताव पठाएको थियो। नेपालले भने घरेलु श्रमिकका लागि मात्र नभई सबै प्रकारका श्रमिकलाई समेट्ने अडान राख्दै आएको छ।
साउदीले घरेलु श्रमिकअन्तर्गत झन्डै ३२ वटा पेसा राखेको छ। यसमा व्यक्तिगत पाइलटदेखि घरभित्र काम गर्ने श्रमिकसम्म छन्। नेपालबाट सबैभन्दा धेरैको संख्यामा पुरुष घरेलु श्रमिकका रूपमा कार्यरत छन्, जसमा ड्राइभर, सुरक्षा गार्ड (नाथुर), कृषि श्रमिक, कुक र गार्डेनर छन्।
साउदीमा कार्यरत अधिकांश नेपाली कामदार आर्थिक, शारीरिक तथा मानसिक शोषणमा पर्दै आएका छन्। हाल साउदीमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। त्यसमा घरेलु श्रमिकलाई जोडिएको छैन।
हाल मानव तस्करहरूले कुबेत र संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै साउदीमा घरेलु श्रमिक पठाइरहेका छन्। त्यसैले साउदीले श्रममन्त्री भण्डारीसँग घरेलु श्रमिकसँगको श्रम सम्झौता पनि छिटै गर्न प्रस्ताव राखेको हो।
साउदीमा श्रम सम्झौता नगरे पनि लामो समयदेखि ठुलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै साउदीमा श्रम स्वीकृति लिएर एक लाख ४१ हजार पाँच सय दुईजना नेपाली साउदी पुगेका छन्। उनीहरूमध्ये एक लाख ४० हजार ६ सय ६६ पुरुष र आठ सय ३६ महिला छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउनदेखि पुस) मा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) जान एक लाख २२ हजार आठ सय २९ जनाले श्रम स्वीकृति लिएका थिए। यस्तै युएईपछि सबैभन्दा धेरै साउदी अरेबियाका लागि श्रम स्वीकृति लिएका छन्। साउदी अरेबियाका लागि ६ महिनामा ७८ हजार चार सय ६८ जनाले श्रम स्वीकृति लिएका छन्।