श्रम शक्तिको अभाव

18 Apr, 2015

लोकमणि राई

दक्षताअनुसार ज्यालादारीमा काम गर्ने एउटा मिस्त्रीले दैनिक ८ घन्टा काम गर्दा ७ देखि ८ सय रुपैयाँ कमाउँछन् । अदक्ष कामदारले भने ५ देखि ६ सय रुपैयाँसम्म कमाउँछन् । दैनिक १२ घन्टा काम गर्दा ज्याला पनि त्यसैअनुसार बढ्छ । कमाइका हिसाबले यो पारिश्रमिक नराम्रो होइन तापनि निर्माण व्यवसायमा संलग्न ठेकेदारलाई जहिले पनि कामदारकै अभाव भइरहन्छ ।

‘भनेकै बेला कामदार पाउन गाह्रो छ,’ काठमाडौं रानीवन नजिकै घर निर्माणको ठेक्का लिएका खोटाङका मिलन राई भन्छन् । उनी करिब २ दशकदेखि निर्माण व्यवसायमा संलग्न छन् । त्यही भएर उनको सम्पर्कमा धेरै मिस्त्री र लेबर छन् । थुप्रै ठेकेदार पनि चिनेका छन् ।

त्यसका बाबजुद उनलाई भनेकै बेला कामदारको पाउन हम्मे पर्छ । कहिलेकाहीँ ठेक्का नपाउँदा खाली बस्नुपर्ने भएकाले उनले तलबी कामदार राख्न सकेका छैनन् । त्यही भएकाले पनि उनलाई बेला बेला कामदारको अभाव हुने गरेको हो । ‘आपत पर्दा साथीभाइसँग कामदार माग्छु,’ उनी भन्छन्, ‘साथीभाइलाई कामदार अभाव भएका बेला आफूसँग काम गरिरहेका मानिस पठाइदिन्छु ।’

केन्द्रीय तथ्यांक विभागले सन् २००८ मा गरेको ‘नेपाल लेबर फोर्स सर्भे’ अनुसार हरेक वर्ष ४ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । त्यसयता यस्तो सर्वेक्षण हुन नसकेकाले हाल कति श्रम शक्ति श्रम बजारमा प्रवेश गर्छन् भन्ने तथ्यांक उपलब्ध छैन ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने मानिसको संख्या करिब ५ लाख ३० हजार थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ८ लाख ६१ हजार ७ सय जनाले वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिइसकेका छन् । यो तथ्यांकले नेपालमै आकर्षक कमाइ भए पनि युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकषिर्त भएको देखाउँछ ।

भोजपुरका टंक पराजुली त्यस्ता एउटा पात्र हुन् । वैदेशिक रोजगारीमा काम गर्ने एजेन्टहरूसँग सम्पर्कमा रहेका उनी अहिले दैनिक ५ सय रुपैयाँमा ज्यालादारीमा काम गर्छन् । ‘विदेश जाऊँ कि भनेर काठमाडौं आएको,’ नयाँ बानेश्वरमा साथीसँग बस्ने उनले सुनाए, ‘यहाँ नियमित रूपमा काम नै पाइँदैन । एक महिना काम पाए अर्को महिना खाली बस्नुपर्ने अवस्था आउँछ । कमाइ गरेर जोगाउनै सकिँदैन ।’ उनले भनेजस्तो ठूलो संख्यामा रहेका साना ठेकेदारहरूले कामदारलाई नियमित काम दिन नसक्नु पनि नेपाली कामदार वैदेशिक रोजगारीमा आकषिर्त हुनुको एउटा कारण हो । त्यही भएर धेरै ठेकेदारहरू ‘प्रोजेक्ट बेसिस’ मा कामदार खोज्छन् ।

‘प्राय: एउटा प्रोजेक्ट सक्ने हिसाबले करारमा कामदार राख्छौं,’ नेपाल आल्मुनियम व्यवसायी संघका अध्यक्ष तेज राई भन्छन्, ‘धेरैजसो ज्यालादारीमा काम गराउँछौं ।’

उनका अनुसार राम्रो काम जानेको कामदारका लागि मासिक २०/२५ हजार रुपैयाँ नियमित कमाइ गर्नु ठूलो कुरा होइन । नियमित काम र मासिक तलब दिन सक्ने ठेकेदारले कामदारलाई कम पैसा दिन्छन् । जस्तो उनले नियमित रूपमा काम गराउने उद्देश्यले प्रशिक्षार्थीका रूपमा भर्ना गरेका सिकारु कामदारलाई खान बस्न दिएर मासिक ५ हजारदेखि ७ हजार रुपैयाँसम्म मात्र तलब दिएका छन् ।

एउटा दक्ष कामदारलाई नियमित रूपमा काम दिन सक्ने ठूला निर्माण कम्पनीले मासिक औसत १८/२० हजार रुपैयाँ तलब दिएका हुन्छन् । उनले नियमित रूपमा काम गर्ने दक्ष कामदारलाई २५ हजार रुपैयाँसम्म मासिक तलब दिएका छन् ।

धेरैजसो मजदुर घर बनाउने, रङ लगाउने, फर्निचर तथा गि्रलको काम गर्नेजस्ता काम लिने साना ठेकेदारसँग काम गर्छन् । ‘हामी नियमित रूपमा काम दिन सक्दैनौं,’ जमलमा रङ लगाउने काम गरिरहेका ठेकेदार शिव राई भन्छन्, ‘त्यही भएर हामीले कामदारलाई पैसा पनि केही बढी नै दिनुपर्छ ।’

श्रम क्षेत्र व्यवस्थित हुन नसक्दा नियमित कामको अभावले तथा नियमित काममा कमाइ कम हुने कारणले मात्र युवा जनशक्ति वैदेशिक रोजगारीमा जाँदैनन् । वैदेशिक रोजगारीमा जानुको मनोवैज्ञानिक पक्ष पनि छ । ‘ऋण खोजेर विदेश गएपछि दु:ख गरेर काम गरौं र २/४ पैसा जोगाएर परिवारलाई पठाऔं भन्ने लाग्दोरहेछ,’ यसअघि पनि वैदेशिक रोजगारीमा गइसकेका पराजुली भन्छन्, ‘विदेश गएपछि परिवारको आशा र अपेक्षा अलि बढी नै हुन्छ जसलाई पूरा गर्नैपर्ने दबाब रहन्छ । यहाँ काम गर्दा त्यस्तो केही नहुने भएकाले कमाएजति सबै खर्च गरिन्छ ।’

अध्यक्ष राई निर्माण क्षेत्रमा कामदारको ठूलो अभाव भएको बताउँछन् । ‘कामदारलाई टिकाएर राख्नै सकिन्न,’ उनी भन्छन्, ‘अलिअलि काम सिकेपछि विदेशतिर हिँडिहाल्छन् । प्रोजेक्टपिच्छे नयाँ कामदार खोज्नुपर्ने र उनीहरूलाई काम सिकाउनुपर्ने अवस्था छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024