१० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांक अनुसार कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ खर्ब ४४ अर्ब ६९ करोड अमेरिकी डलरको छ । जीडीपीका आधारमा प्रतिव्यक्ति आय ८१ हजार ४०० पुगेको छ । आन्तरिक जनसंख्या जम्मा ३ लाख हाराहारी छ ।
यति थोरै जनसंख्या र सानो भूगोल भएर पनि यो पश्चिम एसियाली देश विश्वकै धनीमध्येमा कसरी गनिन पुग्यो, अनि कतारी अमिरको काठमाडौं भ्रमणबाट नेपालले के–कस्तो फाइदा लिन सक्छ । यसबारे अनलाइनखबरले तयार पारेको जिज्ञासा र जवाफ :
विश्व मञ्चमा कतारको पछिल्लो प्रभाव के हो ?
कतारले विश्वमा आफूलाई कूटनीतिक, आर्थिक सबै हिसाबले शक्तिशाली बनाउँदै लगेको छ । सन् २०२२ मा सफल रूपमा फिफा विश्वकपको आयोजना गरिसक्यो । यसक्रममा पूर्वाधार निर्माण र अन्य कामको लागि करिब २२० बिलियन अमेरिकी डलर कतारले खर्च गर्यो ।
पछिल्लो समय कतारले विश्व बजारमा लगानी बढाइरहेको छ । एसियाली देशमा मात्रै होइन, कतारको लगानी अमेरिका, बेलायत जस्ता ठूला देशमा अर्बौं डलर पुगिसकेको छ । कतारले विश्व बजारमा लगानी गर्नको लागि सन् २००५ मा कतार इन्भेस्टमेन्ट अथोरिटी बनाएको थियो । जस मार्फत गरिएको लगानी विश्वका ८० देशमा फैलिसकेको छ ।
कतार बेलायतको हिथ्रो विमानस्थलको ठूलो लगानीकर्तामध्ये एक हो, जसमा कतारको २० प्रतिशत लगानी छ । अमेरिकाको ठूलोमध्येको एक ग्याँस उत्पादक कम्पनी गोल्डेन पासमा कतारले १० अर्ब अमेरिकी डलर लगानी गरेको छ । जसले यही वर्षभित्र उत्पादन सुरु गरेर निर्यात समेत गर्नेछ ।
त्यसका साथै अमेरिकाको हाउजिङ, अटो, शपिङ मललगायत क्षेत्रमा कतारले बर्सेनि लगानी बढाउँदै लगेको छ । जर्मनी, फ्रान्स, चीन, भारतजस्ता विश्वका महाशक्ति राष्ट्रका विभिन्न क्षेत्रमा समेत कतारको लगानी छ ।
कतारी अमिरको यात्रा कुन पृष्ठभूमिमा हुँदैछ ?
विश्व शक्तिका राष्ट्रमा लगानी गरिरहेको मित्र राष्ट्र कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणका क्रममा मंगलबार नेपाल आउँदैछन् । शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई कूटनीतिक र आर्थिक महत्वका साथ हेरिएको छ ।
लगानी सम्मेलनको सँघारमा हुन लागेको भ्रमणलाई उपयोग गर्न सके नेपाललाई आर्थिक रूपमा माथि उठ्न समय नलाग्न सक्छ । नेपालले अहिलेसम्म कतारलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै हेरेको छ ।
थानीको भ्रमणलाई उपयोग गर्न सके र नेपाल वैदेशिक लगानीको लागि उपयुक्त थलो हो, भन्ने विश्वास दिलाउन सके यो नेपालका लागि सुनौलो मौका बन्नसक्छ । ५ वैशाखमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गर्दै श्रम तथा रोजगारमन्त्रीसँग भेटवार्ता गरेका थिए ।
मन्त्री डीपी अर्यालसँग भएको भेटमा राजदूत अन्सारीले कतारका लगानीकर्ताहरू लगानी विविधीकरणको लागि बजार खोजिरहेको बताएका थिए । नेपाल जलविद्युत्, पूर्वाधार, सूचना प्रविधि, यातायातलगायत क्षेत्रमा सम्भावना बोकेको मुलुक भएको राजदूत अन्सारीको भनाइ थियो ।
राजदूतले चासो राखेको केही समयमै कतारका राष्ट्र प्रमुखको भ्रमणकै क्रममा कुनै आयोजनामा तत्काल लगानी जुट्न त सक्दैन । तर, कूटनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा विस्तार गर्ने ढोका खोल्न भने नेपालले सक्नुपर्छ । यसै पनि नेपाल र कतारको सम्बन्ध बलियो छ । संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मञ्चमा दुवै देश एकै ठाउँमा उभिएका छन् ।
नेपालले कस्तो अवसर लिन सक्छ ?
वैदेशिक रोजगारीले गर्दा नेपाल–कतारको सम्बन्ध पिपुल टु पिपुल (जनता–जनतासम्म) फैलिएको छ । केही वर्षअघि साढे चार लाखभन्दा बढी नेपाली कतारमा रोजगारी गरिरहेका थिए । अहिले तीन लाख ६५ हजार हाराहारी नेपालीले कतारमा श्रम गरेर नेपालको आर्थिक उन्नतिमा टेको दिइरहेका छन् । कतारमा रहेका एक जना व्यक्तिको परिवारमा चार जनामात्रै सदस्य जोड्दा पनि करिब १४ लाख नेपालीको कतारसँग साइनो गाँसिएको छ ।
दक्ष जनशक्ति कतारले नेपालबाट लगिरहेको छैन । अर्धदक्ष जनशक्ति कतार पठाएर त्यहाँको अर्थतन्त्रमा योगदान दिइरहेको नेपालले अन्य फाइदा उठाउन सकेको छैन । दैनिक सयौं जनशक्ति कतार पठाउने नेपालले व्यापारिक फाइदा भने लिन सकेको छैन ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म जम्मा ९ करोड १९ लाख रुपैयाँको वस्तुमात्रै कतार निर्यात भएको छ । यो अवधिमा कतारबाट भने १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँको वस्तु आएको छ ।
चालु आवको चैतसम्म नेपालबाट थोरै मात्रैमा प्रशोधित पानी, हरियो तरकार, अदुवा, ग्रिन टि, पास्ताजस्ता वस्तु निर्यात भएको छ । वातावरण अनुकूल नभएका कारण कतार खाद्य सामग्रीमा भने आत्मनिर्भर भइसकेको छैन । कतारलाई चाहिने अधिकांश खाद्य सामग्री यूरोपलगायतका देशबाट आउँछ ।
कतारी राजाको भ्रमणमा नेपालले कृषिजन्य वस्तुको निर्यातको विषय उठाउन सक्छ । यसमा पूर्वाधारका आयोजनामा जस्तो यसमा ठूल्ठूला अध्ययन र सम्झौताको आवश्यकता पनि पर्दैन । गुणस्तरीय कृषिजन्य वस्तुबाट कतारलाई जोड्दा मध्यपूर्वका धेरै देश जोडिन सक्छन् । कतारमा आन्तरिक कम्पनी मात्रै छैनन् । संसारभरका ठूला यूरोपेली, अमेरिकी कम्पनी पनि छन् ।
नेपालले तयारी गरेमा लगानीको ढोका कसरी खुल्न सक्छ ?
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल कतारलाई नेपालमा लगानीको बाटो खोलेर हरियो तरकारी, फलफूल, चिया जस्ता वस्तु निर्यात गर्न सघाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कतारलाई नेपाली कम्पनीसँग मिलेर आफैँ उत्पादन गर्न दिंदा दुवै देशलाई रोजगारी, व्यापार सबै हिसाबले फाइदा पुग्छ ।’
यतिबेला सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारोमा छ । यो बेला प्रभावकारी कार्ययोजना ल्याएको खण्डमा कृषिजन्य वस्तु निर्यातको सम्भावना देखाउन सकिन्छ ।
यसका साथै भ्रमणका क्रममा विदेशमा रहेका नेपाली जनशक्तिको सीप विकासमा नेपालले कुरा राख्न सक्छ । आफ्नो श्रमशक्तिको सीप वृद्धिविकासमा यो भ्रमणलाई नेपालले उपयोग गर्न सक्ने प्रशस्त ठाउँ रहेको अर्थशास्त्री डा. विश्व पौडेल बताउँछन् । ‘कतारमा रहेका श्रमिकको सीप विकासदेखि सामाजिक सुरक्षासम्मको कुरा नेपालले उठाउनुपर्छ’ उनी भन्छन्, ‘त्यसका साथै नेपालको दक्ष जनशक्तिलाई पनि कतारको श्रम बजारमा जाने बाटो खोल्नुपर्छ ।’
अन्य देशजस्तै कतारसँग पर्यटनका हिसाबले जोडिने ठाउँ त छँदैछ । पूर्वाधार क्षेत्रमा पनि कतार उदाहरणीय छ । उसले युग सुहाउँदो आधुनिक प्रविधिसहितको बाटोघाटो निर्माण गरेको छ । विमानस्थल सोही अनुसारका छन् । गुणस्तरीय सडक र यातायात क्षेत्रमा क्रान्ति नै गरेको छ ।
नेपालले कतारसँग मागेर भन्दा पूर्वाधार विकासको सीप र उसको लगानी भित्र्याउन पहल गर्नुपर्ने राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका अर्थशास्त्री पौडेल बताउँछन् । ‘माग्ने बानी हटाएर संयुक्त लगानीका लागि ठूल्ठूला परियोजनामा सहकार्यको प्रस्ताव गर्नुपर्छ’ उनी भन्छन्, ‘त्यसको लागि लगानीकर्ताका लागि आवश्यक कानूनी तथा नीतिगत सहजता, लगानी सुरक्षा र प्रतिफलमा आश्वस्त पार्नुपर्छ ।’
कतार विश्वका लागि पर्यटनको ठूलो गन्तव्य पनि हो । सन् २०२३ मा मात्रै कतारमा ४० लाख ५३ हजार पर्यटक भित्रिएको तथ्यांक छ । यो वर्षको ३ महिनामा कतारले १३ लाख पर्यटक भित्र्याएको छ । होटललगायत पर्यटन पूर्वाधारमा कतारको बलियो उपस्थिति छ भन्ने कुरा फिफा विश्वकपको आतिथ्यले पुष्टि गरिसकेको छ । ‘सेवा क्षेत्रमा कतारको लगानी विश्वबजारमा फैलिरहेको छ,’ पूर्वउपाध्यक्ष डा. पोखरेल भन्छन्, ‘भ्रमणको मौकामा हामीले विश्वास दिलाउन सक्यौं भने नेपालको पर्यटन पूर्वाधारले गतिलो फड्को मार्छ, यसको लाभ हामीले उठाउनैपर्छ ।’
कतार एयरवेज विश्वकै ठूलोमध्येको एक विमान कम्पनी हो । जसले दैनिक विश्वका १५० भन्दा बढी गन्तव्यमा उडान भर्दै आएको छ । जबकि त्योभन्दा ३५ वर्षअघि खुलेको नेपाल एयरलाइन्सको सञ्चालन खर्चसमेत उठ्न नसकेर हैरान छ । झन्डै ४ दशकदेखि निजगढ विमानस्थलको निर्माण कागजमै सीमित छ । बनाएका दुइटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक सेवामै सीमित छन् ।
जानकारहरू सरकारले कूटनीतिक पहल गरेर दुई नयाँ विमानस्थलबाट कतारको प्रत्यक्ष उडान गराउनुपर्ने बताउँछन् । योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेल भन्छन्, ‘राष्ट्र प्रमुख नै आएको बेला कुरा राख्न सकियो भने सहज हुन्छ । यसले विमानस्थलको सञ्चालन खर्चमा योगदान गर्नेमात्रै होइन, अन्य विमान कम्पनीलाई त्यहाँ आकर्षित गर्न पनि सघाउँछ ।’
इन्धन विशेषगरी ग्यास निर्यात गरेर कतारले ३/४ दशकको अवधिमा जुन प्रगति गरेको छ, त्यो विश्वकै लागि उदाहरणीय छ । यसलाई पाठको रूपमा लिएर नेपालले बिजुली उत्पादनमा लगानी बढाउन सक्छ । स्रोतको व्यवस्थापन गर्न नसकेर अध्ययनपछि अलपत्र परेका नेपालमा थुप्रै विद्युत् आयोजनाहरू छन् । त्यसका लागि पनि कतारको सहकार्य महत्वपूर्ण हुने पौडेलको भनाइ छ । उनी भन्छन्, ‘संयुक्त लगानी गरेर जाने अवस्था बन्यो भने नेपालको पूर्वाधार विकासमा राम्रो नतिजा देखिन्छ ।’