श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह

1 Apr, 2024

काठमाडौँ, चैत १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालमा निश्चित शय्या तोक्ने व्यवस्था गरिदिन पत्रमार्फत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

श्रमिकमा स्वास्थ्यसम्बन्धी चेतनाको अभाव रहेको भन्दै श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन बाध्य श्रमिकको उपचारका लागि विशेष सहुलियतसहित छुट्टै शय्याको व्यवस्था गर्न आग्रह गरेको छ ।

त्यस्तै दुर्घटनाका कारण पनि श्रमिक स्वास्थ्य सङ्कटमा परेको छ । श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमिकको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको जानकारी दिनुभयो । मन्त्रालयमार्फत विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालमा श्रमिक हेल्पहेस्कसमेत राख्न आग्रह गरिएको छ । श्रमिकलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागेर उपचार गर्न फर्किएका श्रमिकलाई उपचारलगायतका विषयमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको अस्पतालमा उपयुक्त जनशक्तिसहितको एक स्वास्थ्य परामर्श एकाइ स्थापना गर्नसमेत आग्रह गरिएको छ । नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिब ७० लाख श्रमिक कार्यरत छन् । यसका साथै वार्षिक सात लाखभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024