अमेरिका : प्रवासी नेपाली मञ्चले विदेशमा रहेका नेपाली श्रमिकहरूको सहयोगका लागि श्रमिक राहत कोष स्थापना गरेको छ । कामदार भिसामा विदेश गएका श्रमिकहरूलाई पर्ने अप्ठ्यारो अवस्थामा सहयोग गर्ने उद्देश्यले प्रवासी नेपाली मञ्चले अन्तर्राष्ट्रिय समितिले कोष स्थापना गरेको हो ।
समितिका सचिवालय सदस्य प्रभु थापाका अनुसार सुरुवातमा १ करोडको कोष स्थापना भएको छ । १० करोडको लक्ष्य लिइएको बताउँदै उनले सहयोग संकलन गर्दै कोष वृद्धि गर्दै लगिने जनाए ।
मध्यपूर्व, पूर्वी एसिया लगायतका देशहरूमा काम गर्न जाने नेपालीलाई आइपर्ने समस्यामा राहत दिनका लागि अन्तर्राष्ट्रिय समितिका सदस्य शालिगराम पन्तको संयोजकत्वमा कोष निर्माणको सुरुवात गरिएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिले जनाएको छ । दुर्घटनामा परेका श्रमिकहरूलाई उपचारमा सहयोग, ज्यान गुमाउनु परेकाहरूको शव व्यवस्थापनमा सहयोगदेखि अप्ठ्यारो परेका श्रमिकहरूको उद्धारमा कोषबापत प्राप्त हुने ब्याजको रकम परिचालन गरिने थापाले बताए ।
मञ्चको अन्तर्राष्ट्रिय समितिका सदस्यहरू, सल्लाहकारहरू, विभागका सदस्यहरू, महादेश समितिका सदस्यहरू र राफल खेलाएर जम्मा भएको रकम कोष जम्मा गरिएको मञ्चले जनाएको छ । मञ्चले पूर्वी एसिया, मध्यपूर्व, अमेरिका, युरोप र ओसियाना गरी ५ महादेश समिति बनाएको छ ।