श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन गर्न समिति गठन

8 Feb, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् । मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका हुन् ।

मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन समितिले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्नेछ । अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि छन् ।

मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रूपमा रहेका लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

अस्पतालको उद्देश्यमा ७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल  विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।

 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024