वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न वैदेशिक रोजगार विभागले नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई पत्राचार गरेको छ ।
विभागले बुधबार एक पत्र पठाउँदै हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको हवाई यात्रा गर्नुपर्ने हुन्छ । उडान समयभन्दा तीन घण्टाअगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए ।