श्रमिकलाई खोप पाउनै मुस्किल

25 Jul, 2021

रुद्र खड्का

दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’

झापाका अर्जुन गिरीको अवस्था पनि राम्जालीकै जस्तै छ। रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्थामा पुगिसकेको बताए। जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उनको भनाइ छ। वैदेशिक रोजजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोप उपलब्ध गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।

सोही आग्रहपछि स्वास्थ्यका अधिकारीहरूले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए। त्यस्तो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए। तर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमा नै समस्या पर्ने व्यवसायीको चिन्ता छ। रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतले खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै घोषणा गरेको छ। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ अन्य मुलुक पनि सोही बाटोमा अघि बढेकाले खोप नलगाउँदा श्रमिकलाई समस्या पर्ने देखिएको बताउँछन्।

वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको सरकारी तथ्यांक छ। व्यवसायीहरू सरकारले विदेश जाने श्रमिकलाई खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको क्षेत्र नै धराशयी हुने जोखिम बढेको औंल्याउँछन्। युएईले वैशाख २३ देखि नेपालबाट जानेलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेको छ। यसरी रोक लगाउँदा पाँच हजारभन्दा बढी नयाँ र बिदामा घर आएका कामदारलाई समस्या परेको व्यवसायीको भनाइ छ।  

त्यस्तै, कोरोनाले महामारीको रूप लिएपछि अर्को गन्तव्य मुलुक कुवेतले पनि नेपालबाट कामदार लगेको छैन। कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई आफ्नो मुलुकमा साउन दोस्रो सातादेखि प्रवेश दिने नीति लिएको छ। तर नेपालमा खोप सहज नभइरहेकाले नेपाली श्रमिकलाई यस्तो नीतिले खासै सहयोग नगर्ने व्यवसायीको भनाइ छ। 

कुवेतले कोरोनाविरुद्धको अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सन लगाएकालाई प्रवेश अनुमति दिने घोषणा गरेको छ। साउदीका रोजगारदाताले पनि खोप नलगाएका कामदार नपठाउन म्यानपावर तथा त्यस्ता यात्रु नबोक्न हवाई कम्पनीलाई निर्देशन दिने गरेको व्यवसायी बताउँछन्। 

साउदी प्रवेश गर्नेले खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ। साउदीको आन्तरिक मन्त्रालयले आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा प्रवेश गर्न पाउने नियम घोषणा गरेको छ। खोप नलगाई काम गरेको भेटिएमा जरिवाना तिराउनुको साथै कामबाट हटाउने र कडा अटेरी गरे डिपोर्टसम्म गर्ने नीति लिएको घोषणा गरिएको छ। 

श्रमविज्ञ सोम लुइँटेल सरकारले एकातिर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई तुरुन्त कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न र अर्कोतर्फ खोप लगाइसकेकालाई प्रमाणीकरण गर्न आवश्यक रहेको बताउँछन्। ‘खोपको प्रमाणीकरण गर्दा गन्तव्य मुलुकको स्ट्यान्डर्ड भुल्नु हुँदैन,’ उनले भने, ‘त्यस्तै अर्जेन्ट परेकालाई खोपमा पहिला प्राथमिकता दिई अन्यका लागि खोपको मौज्दातमा ध्यान दिनुपर्ने देखिएको छ।’ विभिन्न मुलुकमा रहेका नेपालीलाई विभेदरहित तरिकाले खोपको सुनिश्चितता गर्नुपर्ने दायित्व पनि सरकारको रहेको उनको भनाइ छ।

कैयौं गन्तव्य मुलुकले आफ्ना नागरिकलाई प्राथमिकताका साथ कोरोनाको खोप दिए पनि ती मुलुकमै काम गर्ने नेपालीलगायतका आप्रवासी श्रमिकलाई खोपमा बेवास्ता भइरहेको पाइएको छ। संघका पूर्वअध्यक्ष गुरुङ वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने उनीहरू झनै मारमा पर्ने र रेमिटेन्स पनि कम हुने बताउँछन्। उनले सके सरकारले र नसके निजी क्षेत्रलाई प्रोत्साहन गरेर भए पनि खोप ल्याउने व्यवस्था हुनुपर्ने बताए। 

मलेसिया, युएई र कुवेत ठप्प

महामारी सुरु भएपछि बन्द भएको मलेसिया रोजगारी अझै बन्द छ। त्यस्तै, केही समयदेखि युएई र कुवेत रोजगारी पनि सुचारु हुन सकेको छैन। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा मलेसिया रोजगारीको अन्योल कायमै छ। अघिल्लो वर्षको मार्चदेखि लकडाउन सुरु गरिए पनि त्यहाँ अझै पनि कोरोनाको प्रकोप कायमै छ। कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो।

मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ। यतिखेर विदेशी कामदार भिœयाउन मलेसिया सरकारले खासै अग्रसरता नलिएको उनको भनाइ छ। वैदेशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन। 

विभागका अनुसार हालसम्म सबै गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये रोजगारीका लागि मलेसिया जान करिब १० लाखले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिएकामध्ये यतिखेर करिब एक लाख ६० हजार मलेसियामा रहेको ढकालले बताए। ‘वैध बाहेक कागजपत्र पूरा नगरेका कैयौं नेपाली पनि मलेसियामा रहेको अनुमान छ,’ उनले भने। म्यानपावर व्यवसायी भने मलेसियामा वैध र अवैध गरी करिब तीन लाख नेपाली रहेको अनुमान गर्छन्। 

जुलाइभरि युएई प्रवेश निषेध

धेरै नेपाली श्रमिक रोजगारीका लागि जाने गरेको युएईले जुलाईभर नेपाल लगायतका विदेशीलाई प्रवेश नदिने निर्णय गरेको त्यहाँस्थित नेपाली राजदूतावासकी श्रम काउन्सेलर निर्मला थापाले जानकारी दिइन्। ‘यो महिनाभर कोरोनाविरुद्ध खोप लगाएका वा नलगाएका कसैलाई पनि प्रवेश नदिने युएई सरकारको निर्णय छ,’ उनले भनिन्, ‘जुलाईपछि कोरोनाविरुद्ध खोप लगाएका श्रमिकलाई प्रवेश अनुमति दिने अपेक्षा गरेका छौं।’ युएई सरकारको यस्तो निर्णयले बिदामा घर आएका श्रमिकलाई निकै मार परेको छ।

थापाले कोरोनाविरुद्धको खोप लगाएकालाई प्रवेश अनुमति दिन राजदूतावासले पहल गरिरहेको बताइन्। नेपालमा कोरोना महामारी तीव्र रूपमा फैलिएपछि कामदारको मागपत्र पनि निकै कम आएको छ। व्यवसायीका अनुसार अहिले सबभन्दा बढी माग आएको कतारबाट हो। कतारका रोजगाराताले ४० हजार कामदारको माग गरेको व्यवसायी बताउँछन्। 

त्यस्तै, साउदीबाट २०, साइप्रसबाट १५, युएई र रोमानियाबाट पाँच/पाँच हजार कामदारको माग आएको व्यवसायीले बताएका छन्। अन्य गन्तव्य मुलुकबाट भने फाटफुट रूपमा माग आउने गरेको बताइन्छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका संख्याको आधारमा सबभन्दा ठूलो मलेसियाले कोरोना महामारी सुरु भएदेखि नै नयाँ नेपाली श्रमिक लिएको छैन। 

थोरै संख्यामा आएका मागपत्र पनि कोरोनाविरुद्धको खोप नलगाएका कारण झनै समस्या परेको व्यवसायीको भनाइ छ। खोप अनिवार्य नगरेका मुलुकमा जाने श्रमिक कम्तीमा १० दिन क्वारेन्टिन बस्नुपर्ने र त्यो खर्च आफैं तिर्नुपर्दा पनि समस्या भइरहेको कुरा बुझ्न सरकारसँग माग गरिएको छ।  

‘साउदी जाने कामदार अनिवार्य क्वारेन्टिन बस्नुपर्दा कम्तीमा ९० हजार रूपैयाँ खर्च हुन्छ,’ गुरुङले भने, ‘कमसेकम कोरोनाविरुद्धको खोप पाएको भए गरिब युवाको त्यो रकम त बचत हुन्थ्यो।’ कतारले पनि खोप नलगाएकालाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। १४ दिन क्वारेन्टिन बस्नु पर्दा एउटा श्रमिकले करिब एक लाख रूपैयाँको खर्च भार बेहोर्नुपर्ने व्यवसायी बताउँछन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024