१३ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानमा खाना-खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल थालेको छ । विदेश जाने श्रमिकलाई बजेट एयरलाइन्स भन्दै चर्को शुल्क पनि लिने तर खाना पानीको सुविधा पनि नदिने भइरहेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो विभदपूर्ण व्यवस्था हटाउन पहल गर्नुुपर्ने निष्कर्ष निकालेको थियो ।
त्यसकै आधारमा विभागले बुधबार विभिन्न निकायमा पत्राचार गरेर हवाई टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको उचित हवाई भाडा तथा सुविधाको व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई विभागले आग्रह गरेको छ ।
विभागका अनुसार मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कै नै तिर्नुपर्ने अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौं,’ उनले भने ।
छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको उनले बताए ।
विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।