श्रमिकको साहस

23 Nov, 2021

रमेश भट्टराई ‘सहृदयी’ 

पैसा, कल्पना र योजनाले मात्रै पनि होइन, श्रमिकको कर्मले विकास र समृद्धि सम्भव छ। 

एकजना श्रमिक दाइको कर्मको लगनलाई मैले केही दिन नियालें। कानमा पेन्सिल, हातमा फिता, छेउमा साबेल छ। उहाँले साथमा राख्नुभएका सबै चीजका बारेमा त म अनविज्ञ थिएँ नै। रड, बालुवा, गिटीलगायतका चाहिने सामानको जोहो गरिएको देखिन्छ। त्यो कंक्रिटलाई एउटा सुन्दर महलमा परिणत गर्ने वैज्ञानिक अठोट उहाँमा देखिन्छ। कर्मका हिसाबमा सुटेकबुटेक देखिने मानिसले त्यो काम गर्नै सक्दैन। यद्यपि, एकजना श्रमिकको अभीष्ट आफ्नो घर–व्यवहारका लागि चाहिने पैसाको जोहो हो। भोको पेट भर्नु हो अनि घरको जिम्मेवारी हो। 

निकैबेर नियालें– अब उहाँले आफूजस्तै अरू साथीहरू पनि खोज्नु भएको छ। कामको बाँडफाँड पनि भएको देखिन्थ्यो। पैसा जुटाउने घरमालिकले पैसा जुटाइरहेका पनि हुनन् नै। इन्जिनियरले आफूले पढेका आधारमा वा केही अनुभवका साथमा सुझाव पनि दिएको देखिन्थ्यो। करिब एक महिनापछि भवनले एउटा आकार लिइसकेको देखियो। श्रमिक दाइलाई रत्तिभर पनि फुर्सद थिएन। सबै नै तल्लीन देखिन्थे। मनमनै त्यो सीप, कला अनि कर्मको मूल्यलाई खोतल्नु सान्दर्भिक लाग्यो। पैसालाई नै सर्वश्व मान्ने समाजका बारेमा अनेकन दिमागी विचार उत्पन्न भए। कोही बालुवा चाल्ने, कोही इँटा बोक्ने त कोही पर्खाल उठाउने। कोही बालुवा, गिटी, सिमेन्ट आदिलाई मिलाएर मसला बनाउने। सबैको लगन एकै उद्देश्यमा केन्द्रित छ। मानौं मौरीको एकता जस्तै। 

‘दाइ, घरको आकार त आइसकेछ है!’

उहाँले भन्नुभयो– ‘हामी त दुःखिया। हजुरहरू जसरी पढाइलेखाइ गर्न पाइएन। अब यस्तै ज्यामी काम गर्नु परेको छ।’

‘हजुरहरूको जस्तो महान् ज्ञान हामीमा कहाँ छ र! यत्रो भवन बनाउने खुबी हजुरहरूमा छ। नापजाँचको ज्ञान छ। यही कुरालाई हामी त गणित भन्दै किताबमा मात्रै पढिरहेका हुन्छौं। यत्रो कला, यस्तो खुबी, यत्रो प्राविधिक ज्ञानलाई हजुर स्वयम्ले नै किन सामान्य ठान्नुहुन्छ! ठूलाठूला सहर, बजार, महल, दरबार सबै हजुरहरूजस्ता व्यक्तिको खुबीका कारणले बनेका हुन्। विकासको सबैभन्दा महान् हिस्सा तपाईंहरू नै हुनुहुन्छ। वास्तवमा पैसाले मात्रै होइन, कल्पना र योजनाले मात्रै पनि होइन तपाईंहरूको कर्मले स्वरूप फेरिन्छ। परिवर्तन हुन्छ। तपाईंहरू आफ्नो पेसामा गर्व गर्नुहोस्। मलाई त यस्तो लाग्छ।’

दाइले अलिकति खुसी महसुस गरेर हाँस्नुभयो। समर्थनमा ‘अँ, त्यो त हो’ भन्ने उत्तर दिनुभयो। 

भन्न मन भयो, ‘दाइ, यहाँहरूको श्रमबिना विकास र समृद्धि सम्भव नै हुँदैन। यहाँहरूको कामलाई म त सम्मान गर्छु तर कमसेकम तपाईंहरू आफूले पनि कमजोर नठान्नुहोस्। गर्वका साथ काम गर्नुहोस्! किनकि, हरेक विकासका काममा श्रमिकको हात हुन्छ।’ 

विचार त आखिर केवल शब्द न हो। हाम्रो समाजमा श्रमिले आत्मसम्मान बेचेर विकास निर्माणमा पसिना बगाएका हुन्छन्। के साँच्चै हाम्रो समाजमा श्रमिकप्रति हेर्ने दृष्टिकोण सकारात्मक छ! के पैसा दिँदैमा मात्र श्रमिकको श्रमलाई सम्मान भएको हो भन्ने त! अर्थात्, न्यूनतम शुल्कमा काम गर्ने श्रमिकले आजको महँगीमा कसरी जीवन सञ्चालन गर्ने ? हरेक काम सानो–ठूलो हुँदैन भन्ने भाव कहाँ छ! हरेक राजनीतिक दलले ओढ्ने गरेको समाजवादले किन समानताको पाठ सिकाएन ? हाम्रो समाजको आँखामा– श्रमिक आखिर श्रमिक नै हो चाहे उसले प्रमाणपत्र लिएको होओस् या नहोओस्। यद्यपि, समाजकै कारण सबैभन्दा उत्तम र आवश्यक कर्मलाई घृणा गर्ने सोच विकसित छ। 

यसअघिको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) को अधिकारलाई प्रयोग गरी २०७८ साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक रु. १५ हजार पुर्‍याउने घोषणा गरेको थियो। अझ माक्र्सवादी मान्यतालाई हेर्दा शोषित वर्गभित्र पर्ने श्रमिकले शोषक वर्गलाई सहयोग गरिरहेको हुन्छ। वास्तवमा श्रमलाई सम्मान गर्ने पहिलो आधार उसको तलब स्केल अर्थात् पारिश्रमिक नै हो। अर्को पक्ष समाजले उसलाई हेर्ने दृष्टिकोण पनि हो। 

महामारीका कारण जारी भएको निषेधाज्ञा र लकडाउनको मारभित्र मुलुकका विपन्न वर्ग नै बढी पीडित हुनपुगे। आज सामान्य अवस्थामा त्यसको असरबाट त्यही वर्ग बढी प्रताडित छ। आखिर, मुलुकले जे जति नियमलाई निर्देश गरे पनि दिनभरि काम गरेर बेलुकाको छाक टार्नुपर्ने श्रमिकको आवाजलाई सरकारले पूर्णतः सम्बोधन गरेको हुँदैन। त्यो वर्गले अभैm पनि खुलेर न्याय माग्न सक्दैन। सुकुमबासीहरूका समस्या हल गर्न बनेका आयोगमा समेत राजनीतिको फोहोरी खेलले तमासा मच्चाइदियो। वर्तमान सरकारले यसअघिको सरकारले बनाएको ‘भूमि आयोग’ लाई गत साउन १९ मा खारेज गरेर गत भदौमा नै केशव निरौलाको अध्यक्षतामा ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गरेको हो। 

विकसित मुलुकमा श्रमिकले योग्यताको प्रमाणपत्र लिएर नेपालकै जसरी काम गरे पनि आत्मस्वाभिमान हुने रहेछ। नेपालमा पढ्न नसकेका र नचाहेकाले श्रमिक हुनुपर्दा हीनताबोध गर्छन्।

आफ्नो खेमा, आफ्नो पार्टी, आफ्नो मान्छे राख्ने पद्धतिमा चलेको वर्तमान राजनीतिले भूमि व्यवस्था, सुकुम्बासी समस्याको हल, गरिबी निवारणका योजनाजस्ता गहन विषयमा समेत उही भागबन्डे पद्धति लादिरहेका छन्। उच्च तहमा आफ्नालाई नै राख्नुको तात्पर्य स्वार्थ र मनोमानी गर्न चाहनु पनि त हो। ठूला पार्टीभित्रैका व्यक्तित्वहरू बालुवाटारको जग्गा प्रकरणमा मुसिएका घटना तैँ चुप मै चुप हुन्छ। वर्षौंसम्म पुस्तान्तरित भएर बसिरहेका श्रमिककै बस्तीमा चाहिँ सरकारले किन डोजर चलाउन आदेश दिन्छ ? घरको टेलिभिजनमा तिनको बिजोग हेर्दै मस्ती मार्नेले तिनलाई नागरिक नठानेको होइन र ? मानवता कहाँ छ ? के वर्षौंदेखि बसेपछि तिनलाई नेपाली नागरिक भन्न नसकिने हो ? आखिर यो पृथ्वीको जमिनभित्र सबैले कम्तीमा खाना, नाना र छाना पाउनुपर्छ। कमसेकम जन्मेपछि जिउँदै मार्ने कुकृत्य कतै कसैबाट नगरियोस्। कानुन र नियमले विपन्नको न्यायमा आँखा पुर्‍याओस्। 

रोड छेउमा ढल सफाइ गर्ने श्रमिकलाई किन तल्लो दर्जाको मानिन्छ ? समाजमा तिरस्कृत, कमजोर, लाञ्छित श्रमिकलाई श्रमको मूल्य प्रदान गर्ने कुरामा निजी संघसंस्था के कति उत्तरदायी बनेका छन् भन्ने बारेमा अनुगमन भएको देखिँदैन। विकसित मुलुकमा श्रमिकले योग्यताको प्रमाणपत्र लिएर नेपालकै जसरी काम गरे पनि आत्मस्वाभिमान हुने रहेछ। नेपालमा पढ्न नसकेका र नचाहेकाले श्रमिक हुनुपर्दा हीनताबोध गर्छन्। आफ्नै प्राविधिक कर्मको मूल्यमा गर्व गर्दैनन्। यो समाज मनोविज्ञानको दोष हो। यसर्थ नेपालमा पनि तिनलाई सोही ज्ञान र अनुभवका आधारमा प्रमाणपत्र दिने पद्धतिको अपरिहार्यता छ। बचत र लगानीको तौरतरिकाको ज्ञान आवश्यक छ। तालिम र स्तरोन्नतिको खाँचो छ। ज्ञान र खुबी भएर पनि कमजोर महसुस हुनु श्रमिकमाथिको अन्याय हो। किताबी ज्ञानले मात्रै मानिसका सबै खाले अत्याधुनिक आवश्यकता पूरा हुँदैनन् भन्दै गर्दा सीपमूलक, ज्ञानमूलक, प्राविधिक, रोजगारमुखी शिक्षाका कुरा गर्दै गर्दा कमसेकम भएका श्रमजीवी सक्षमता र अनुभवलाई प्रोत्साहन गर्ने नीतिगत र संस्थागत आधार तय गरिनुपर्छ। यसमा तीनै तहका सरकारको भूमिका सान्दर्भिक ठहर्छ। 

लुगा सिलाउने तल्लाघरे काका या जुत्ताको तलुवा मिलाएर चटक्क पार्ने मास्लाघरे कान्छा दाइ अर्थात् हलो तास्ने पल्लाघरे दाजु नै किन नहुन्– समाजमा सबैको महत्व उस्तै र उत्तिकै हुन्छ। समाज त सहयोगापेक्षी चक्रीय आधारमा सञ्चालित हुन्छ। ढुंगाको भर माटो, माटाको भर ढुंगो। समाज परिवर्तन हुन समानताको श्रम–सम्मानवादी सोचको खाँचो छ। समाजमा शत्रु बढाउने कि भाइचारा सजाउने ? किनकि, कैयौँ विकृतिलाई प्रेमको वाणले परास्त गर्न सक्छ। हिजो हलो जोत्नेले आज ट्याक्टर जोत्छन्। हिजोका भरिया दाइ आज ट्रकमा सामान ओसार्छन्। प्रविधिले श्रमिकको समय, श्रम र सम्पत्तिलाई बचत गराएको छ। आजको युगान्तकारी समाजसँग श्रमिकको मर्मबोध आवश्यक हुन्छ। ठूलाठूला ओहोदाका मान्छे बस्ने घर, तिनीहरू बस्ने कुर्सी, तिनीहरू सुत्ने अलेसानका महल, सानदार पलङ, डस्ना, सिरानी सबै श्रमिकको कर्म हो भन्ने बुझ्नु आवश्यक छ। 

जसले आलेसानका महल बनाउँछन् तिनीहरू नै आफ्नै हातले बनाएका महलका छिँडीमा लाञ्छित भएर बस्न विवश हुन्छन्। अमानवीय वेदनामा पिल्सिन्छन्। गाडीमा भाडा उठाउने ससाना बालबच्चादेखि घरेलु श्रमिक बनेका विपन्न वर्गको बाध्यतालाई बोध गरिनु आवश्यक हुन्छ। आज मुक्ति र स्वतन्त्रताका कुरा गरिरहँदा सहरका बिल्डिङका कुनाभित्र कँज्याइएका, होटलमा भाँडा माझ्न राखिएका, हिजो गोठालो बस्ने भनिएका जसरी आज घरको कामधन्धा गर्न विवश पारिएका श्रमिकदेखि बालश्रमिकको मनोदशालाई समेत मानवीय हिसाबले केलाउनुपर्छ। राजमार्ग आसपासका होटलमा भइरहेका बालश्रम शोषण, शारीरिक यातना र बाध्यतालाई पनि नियालौं। समाजलाई मिहिन रूपमा हेर्ने हो भने आधुनिक युगमा आदर्श भाषणको कुनै तुक नै छैन। हामी हेपिन चाहँदैनौं भन्दै गर्दा पनि राज्यले तिनलाई नियाल्ने, खोजी गर्ने, अवसर दिने, जीवनस्तर सुधार गर्ने बारेमा अनुसन्धानात्मक कार्य र नवीन सोच ल्याउन सकेन। थुप्रै नामका व्यवस्था फेरिए तर सोच फेरिएन। समृद्ध नेपाल र सुखी नेपालीको नारा पनि सुनियो। सामाजिक सुरक्षाका कुरा पनि चर्किए। आखिर सबै कल्पनाका महल मात्रै बोध भइरहेका छन्। सडकमानवरहित सहरको घोषणा पनि पानीको फोका जसरी बिलाए। महाकवि देवकोटाले ‘भिखारी’ कवितामा भने जस्तो गुलाफको बीचमा एक उनिउँको रोदनलाई सहरभित्रै छरपस्ट भेटिन्छ। सबैलाई सम्पन्न, सुखी र आनन्ददायी जीवन जिउने रहर छ। अतः ठूला महलभित्र तिनलाई दबाब दिइएका वेदना संवेदनशील हुन्छन्। राज्यले तिनको भविष्यका लागि आवश्यक कार्ययोजना तय गर्न सक्नुपर्छ। 

खाली हात चुपचाप बसेर बस्ने मानिसको प्रकृति होइन। मुलुकको अस्थिर राजनीति, अदूरदर्शिता, स्वार्थ र भ्रष्टाचारमा लिप्त नेताको झुन्ड, स्वार्थीजनिन नीति र शैलीका कारण जनताले गरिबीलाई व्यहोर्नु परिरहेको छ। नेपालीहरू त पाखुरी बजारेर प्राप्त उपलब्धिमा नै रमाउन चाहन्छन्। प्रायः कर्मविहीनलाई रोगले पनि आक्रमण गर्ने बढी सम्भाव्यता हुने रहेछ। कर्ममा तल्लीन हुनेले बिहान बिहानै दगुरिरहने बाध्यता खेप्नु पर्दैन। हामी प्लास्टिक टिप्नेलाई हेप्छौं– तिनले सहर सफा नगरिदिए हामी सुकिला भनाउँदा फोहोरी बन्छौं भन्नेसम्मको हेक्का राख्दैनौं। आजको मान्छे साह्रै नै संकीर्ण बन्दै गएको छ। तोकिएको न्यूनतम पारिश्रमिक

नपाएका पीडा बग्रेल्ती भेटिन्छन्। 

अर्कोतिर दूरदराजको व्यथा र वेदनालाई सम्बोधन नगरी कागजी समृद्धिले व्यावहारिकता पाउनै सक्दैन। नेपाल राष्ट्र बैंकको तथ्यांकले वि.सं. २०७४ को असार मसान्तसम्ममा हरेक नेपालीको टाउकोमा २४ हजार २ सय १४ रुपैयाँ ऋण देखाएको थियो। केन्द्रीय तथ्यांक विभागले हालको जनसंख्या ३ करोड ५ लाख २ हजार ५ सय ८५ जना पुगेको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यो जनसंख्यालाई भाग लगाउँदा प्रतिव्यक्ति ५६ हजार ६ सय ८३ रुपैयाँ ऋण पर्न आउने तथ्यलाई पेस गरिरहँदा करिब ४० प्रतिशत देशको सक्षम युवा रोजगार, अर्थोपार्जन, शिक्षा विकास र भविष्यको बाटोलाई नियाल्दै बिदेसिएको छ। युवालाई रोजगार चाहिएको छ अनि देशलाई विकास। दुवैको लक्ष्य मिल्यो तर व्यवस्थापनको पाटो कमजोर बनिरह्यो। 

दीर्घकालीन योजना अत्याधुनिक श्रमिकमैत्री बन्न सकेन। यसर्थ श्रमजीवीले सधैं परजीवी बन्नुपर्ने कारण र समाधान खोजी गरियोस्। किसानले अन्न, दाल–चामल–तरकारी–दही–दूध उब्जाउँछ। अन्य सबै पेसामा आबद्ध नागरिकको प्राणदाता किसान नै हो। कुलीनवादी आडम्बरीहरू पनि तिनैको पसिनामा कुर्लने हुन्। पाँचतारेको योजनाले झुप्रो र खेतको समस्या हल हुँदैन। मानवीय भावनाको कदर गर्न नजान्ने समाजले आफ्नो र आफ्नो श्रमको यथार्थतालाई बोध गर्न सक्दैन। भुइँ मान्छेतिर दृष्टिगत गर्ने बुद्धिबाट मात्रै समाजवादको सार्थकता स्थापित हुन्छ। श्रमिकका समस्यालाई मिहिन रूपबाट समाधान गरे समृद्धिको मार्ग सहज हुन्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024