सरकारले तामझामका साथ देशैभर ‘श्रमाधान रोजगार मेला’ गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिरहेको यो मेला कोशी प्रदेशबाट सुरु भएर आइतबार सुदूरपश्चिमको धनगढीमा पुगेको छ।
मेलाको उद्घाटन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ठुलै दाबी गरेका थिए । उनले वैदेशिक रोजगारीबाट फर्किएको वा नेपालमै रहेको श्रम, सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका थिए।रोजगारीको माग र आपूर्तिमा काम गर्न सरकारले ‘रोजगार बैंक’को अवधारणा कार्यान्वयनमा ल्याउने पनि उनको भनाई थियो।
एक लाख ‘रिटर्नी’(विदेशबाट फर्किएका)हरूलाई ज्ञान, पुँजी, सीप र प्रविधि क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको पनि प्रधानमन्त्रीको दाबी थियो।
श्रममन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रूपमा मेलाको भूमिका खेल्ने बताएका थिए। ‘रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धन गर्नेलगायत उद्देश्य श्रमाधान रोजगार मेलाको छ,’ मधेस प्रदेशको मेलालाई उद्घाटन गर्दै मन्त्री अर्यालले भनेका थिए,‘नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रूपमा यो मेलालाई लिन सकिन्छ ।’
मन्त्रालयको उद्देश्य पनि युवाहरूलाई सीप सिकाएर नेपालमै रोजगारी दिने रहेको भनिएको छ । यस्तै मेलामा देशका विभिन्न सरकारी निकायले दिने सेवा, सुविधा र समस्या समाधानका बाटाबारे युवालाई जानकारी दिने र नीजि तथा सरकारी क्षेत्रले दिदैआएका सीपमूलक तालिमबारे जानकारी दिने पनि मेलाको उद्देश्य छ।
मेला उद्देश्यअनुरुप अघि बढिरहेको र त्यसमा उल्लेख्य मात्रामा युवा सहभागिता रहने गरेको मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । उनले भने, ‘मेलामा युवाहरूको उत्साहजनक सहभागिता छ । कोशी र मधेसको तथ्यांक हेर्दामात्रै पनि करिब पाँच हजार युवाहरूको सहभागि भएको तथ्यांक आएको छ ।’ हालसम्म कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मेला सम्पन्न भइसकेको छ।
मेलामा आउने अधिकांश कक्षा १२ को परिक्षा लिएर बसेका र स्नातक तह अध्ययन गरिरहेका युवाहरू रहेको सूचना अधिकारी भुसालले बताए । उनले भने, ‘यस्तै सीप भएर पनि रोजगारी नपाएका युवाहरू पनि आइराख्नुभएको छ।’
मेलामा रोजगारदाताहरूको सहभागिता पनि उल्लेख्य रहेको सू्चना अधिकारी भुसालले बताए । कोशी प्रदेशमा मात्रै रोजगारदाताबाट दुई हजार ४०० रोजगारीको प्रतिवद्धता आएको उनले बताए । ‘झण्डै सहभागी मध्ये ५० प्रतिशत रोजगारको प्रतिवद्धता आएको छ,’ उनले भने,‘रोजगारदाताबाट सीपयुक्त जनशक्तिको बढी खोजी हुने,तर हाम्रा युवाहरू त्यति दक्ष र सीपयुक्त नहुने गरेको देखियो ।’ रोजगारदाताले खोजेको जस्तो सीपयुक्त युवा पाउन निकै गाह्रो देखिएको उनले बताए।
यी मेलाबाट युवाहरूमा सीप सिक्नुपर्छ भन्ने भावना कम देखिएको पनि भुसालको अनुभव छ । ‘अध्ययनपछि सीप सिकेर काम गर्नुपर्छ भन्ने भावना नै कम रहेछ । सीप सिकेपनि काम नगर्ने अर्को प्रवृत्ति पनि उत्तिकै भेटिन्छ,’ उनले भने।
अनि काम गर्नुपर्छ भन्ने भावना युवाहरुमा नदेखिएको उनको भनाइ छ। उनले भने, ‘नेपाली युवाहरुमा सिप सिक्नुपर्छ भन्ने भावना नै छैन्। सिप सिकेका युवाहरु पनि एउटा सिपमा मात्र दक्ष छैनन्। उनीहरुले विभिन्न सिपहरुको तालिम लिएका छन्। तर काम भने गरेका छैनन्। र काम पनि केहि गर्न नजानेको देखियो।’
मेलाबाट युवाहरूमा ‘नेपालमा पनि केहि छ’ भन्ने परेको सूचना अधिकारी भुसालले दाबी गरे। ‘यो मेलाले विदेश जानबाट केहि हदसम्म रोक्नसक्छ । सरकारले केहि गर्दैछ भन्ने आश युवामा देखिएको छ,’ उनले भने । रोजगारका साथै नेपालमा केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु पनि ठुलै काम भएको उनले बताए ।
निजी क्षेत्रलाई उपेक्षा
सरकारले तामझामसहित मेला गरिरहदा निजी क्षेत्र भने आफुलाई सहभागी नगराएको बताउँछ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले अहिलेसम्म मेलाबारे सरकारले कुनै छलफल नगरेको बताए।
‘रोजगारी भनेपछि निजी क्षेत्र पनि जोडिन्छ। तर मेलामा हामीलाई सहभागी गराइएको छैैन । कति युवालाई रोजगार दिन सक्नुहुन्छ भन्ने खालको छलफल पनि हामीसँग भएको छैन,’ गुप्ताले भने,‘मलाई लाग्छ यो मेला युवालाई सीप कसरी सिकाउने भन्नेमा केन्द्रीत हो की रु’
उपाध्यक्ष गुप्ता नेपालमा दक्ष र सीपयुक्त जनशक्ति कति छ? कति रोजगारदाता छन् ? भन्ने यकीन तथ्यांक नै नभएको बताउँछन् । उनले भने, ‘सरकारसँंग यस्तो तथ्यांक हुनुपर्ने हो, अहिलेसम्म ध्यान गएको देखिन्न ।’ यस्तो अवस्थामा सरकारले अपेक्षा र प्रचार गनेअनुरुप मेलाले उद्देश्य प्राप्त गर्ने र युवाहरू नेपालमै रोकिन्छन् भन्ने सोच्न नसकिने उनले बताए ।