श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी

30 Apr, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नेगरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो।

कार्यविधिअनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा हो।

त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्या एकद्वार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो। मन्त्रालयले गत वैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो। यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागु हुने उल्लेख गरिएको छ।

श्रमिकहरूले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्टवाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्यदृश्य आदि माध्यम प्रयोग गरेर प्रत्यक्ष वा अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन्। सामाजिक सञ्जाल (फेसबुक, हट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन्।

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायमा सिफारिस गरिनेछ। गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ। समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ।गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ। यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ। श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका माहाशाखाहरू, वैदेशिक रोजगार विभागका र मातहतका कार्यालयहरू, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरू, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ।

श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्ताबेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ। विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रूप तयार गरी गुनासोहरू अभिलेखीकरण गरिनेछ।

दस्ताबेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरूको दस्ताबेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिक रूपमा प्रिन्ट गरेर राख्नुपर्नेछ।

मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्नेछ। मन्त्रालय र मातहतका निकायहरूले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्नेछ।

आफ्नो निकायअन्तर्गतका कार्यालयहरूसँग सम्बन्धित साईट, लेटर प्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यसका साथै श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरूको ‘कि परफरमेन्स इन्डिकेटर’ बनाएर त्यसको आधारमा फोकल पर्सनहरूको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वयन गर्नुपर्नेछ। हरेक महिना प्राप्त गुनासो त्यसको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्नेछ।

कसरी गर्ने समस्या, गुनासो, जिज्ञासा र सुझाव दर्ता?

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन्। कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर तथा श्रमाधान एपको प्रयोग गर्न सकिन्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024