श्रमसम्बन्धी गुनासो सम्बोधन गर्न कार्यविधि

29 Apr, 2024

काठमाडौँ, वैशाख १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि–२०८१ जारी गरेको छ । श्रम, रोजगारसँग सम्बन्धी सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले उक्त कार्यविधि जारी गरेको हो ।

मन्त्रालयले श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउने गरी गत वैशाख १२ गते कार्यविधि स्वीकृति भएकाले सोही दिनबाट लागु हुने छ । कार्यविधिमा श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकको समस्या जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा हुने छ ।

यस्तै श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्या एकद्वार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो । यस्तै कार्यविधिमा श्रमिकले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन मोबाइल, ध्वनि, टिभी, स्माट वाच) लिखित, मौखिक ध्वनि, श्रव्य श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष अन्य विद्युतीय माध्यमबाट कलसेन्टरमा गुनासो, जिज्ञासा समस्या सुझाव सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको छ ।

कलसेन्टरमा सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल एक्स (सिग्लन) बाट पनि गुनासो दर्ता गर्न सक्ने छन् । श्रमाधान कल सेन्टरबाट प्राप्त गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायमा सिफारिस गरिने छ ।

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा ‘फोकल पर्सन’ पनि तोक्ने व्यवस्था कार्यविधिमा गरिएकाले प्रभावकारी हुने बताउनुभयो । उहाँका दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्ने छ । समस्या समाधन नभएसम्म फ्लोअप गर्नुपर्ने छ । गुनासोको संवेदनशीलताका आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अति जरुरी, जरुरी मध्यम, सामान्य, तामेली गरी गुनासो वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासो क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्ने छ ।

श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका माहाशाखा, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालय, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्ने छ ।

मन्त्रालयका प्रवक्ता रिजालले श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रूप तयार गरी गुनासो अभिलेखीकरण गरिने छ भने दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिक रूपमा प्रिन्ट गरेर राख्नुपर्ने छ ।

मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सुझावलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनुपर्ने छ । मन्त्रालय र मातहतका निकायले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोको सुनुवाइ गर्न पूर्णकालीन फोकल पर्सन नियुक्त गर्नुपर्ने छ । आफ्नो निकाय अन्तर्गतका कार्यालयसँग सम्बन्धित साइट, लेटर प्याड एवं सरोकारवालासमक्ष पुग्ने सबै कागजातमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024