श्रममन्त्रीको रिपोर्ट कार्ड : ६ कार्यविधि स्थगन

16 Apr, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबहाली गरेयता एक महिनामा ६ वटा विवादित कार्यविधि स्थगन गरेका छन् । २३ फागुनमा श्रममन्त्री नियुक्त भएका अर्यालले २४ चैतसम्मको कार्य प्रगतिको रिपोर्ट कार्डमार्फत यस्तो जानकारी दिएका हुन् । मन्त्री बनेको केही दिनमै पूर्वप्रस्थान अभिमुखीकरणका लागि शुल्क वृद्धिसहितको व्यवस्था गर्न बनेको कार्यविधिलाई उनले स्थगन गरेका थिए ।

वैदेशिक रोजगारीका लागि जानुअघि लिइने पूर्वप्रस्थान अभिमुखीकरण शुल्क सात सय रुपैयाँ रहेकोमा मन्त्रालयले २८ सय रुपैयाँ पुर्‍याउने कार्यविधि निर्माण गरेको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुल्क वृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिएका थिए । मन्त्री अर्याल आएपछि यो कार्यविधिलाई स्थगन गराएका हुन् ।

उनले यो कार्यविधि खारेज नै गर्ने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ । त्यसैगरी, दक्ष तथा अर्धदक्ष कामदारका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धमा बनेको कार्यविधि स्थगन गरिएको छ । दक्ष तथा अर्धदक्ष कामदारलाई अनिवार्य अंग्रेजी भाषा सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था यो कार्यविधिमार्फत गरिएको थियो ।

कार्यविध लागू हुँदा वैदेशिक रोजगारीमा जाने कामदारले भाषा सिक्न र परीक्षा दिन करिब ३५ हजार थप व्ययभार बोक्नुपर्ने स्थिति थियो । जापानमा सीपयुक्त कामदार पठाउने सम्बन्धमा जारी भएको कार्यविधिसमेत स्थगन गरिएको छ । कोरियाली रोजगारी मोडेलजस्तै सरकारीस्तरबाटै जापान पठाउने भनिए पनि कार्यविधि जारी गर्दा म्यानपावरबाट पठाउने व्यवस्था भएपछि विवाद बनेको कार्यविधि स्थगनपछि अहिले अध्ययनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, दक्षिण कोरियामा इ–७ भिसामा कामदार पठाउने सम्बन्धमा जारी भएको कार्यविधिलाई पनि थप अध्ययन गर्नुपर्न भन्दै अहिले स्थगनको अवस्थामा छ ।

मन्त्रालयले १२ चैतमा सूचना जारी गर्दै इजाजतपत्र पाएका संस्थाहरूबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ६ वटै कार्यविधिबारे अध्ययन गर्न गत ३० फागुनमा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

स्थगन गरिएका कार्यविधि तथा निर्णय

पूर्वप्रस्थान अभिमुखीकरणका लागि शुल्क वृद्धिसहितको व्यवस्था गर्न बनेको कार्यविधि

जापानमा सीपयुक्त कामदार पठाउने सम्बन्धमा जारी भएको कार्यविधि

दक्ष एवं अर्धदक्ष कामदारका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धमा बनेको कार्यविधि

दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने सम्बन्धमा जारी भएको कार्यविधि

रोजगारदाताले पठाएको माग छानबिन गरी मन्त्रालयमा गठन भएको समितिबाट प्रमाणीकरण गर्नेसम्बन्धी कार्यविधि

बिटुबी प्रक्रियाबाट इजरायलमा कामदार पठाउने निर्णय

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024