होम कार्की
काठमाडौँ — शून्य लागतमै नेपाली कामदार लैजान मलेसियाको एक रोजगारदाता कम्पनी तयार भएको छ । गाउँदेखि काठमाडौंसम्म आउने–जाने, काठमाडौंका होटलमा बस्ने र खाने, राहदानी बनाउन लागेको खर्च, मेडिकल, भिसा, हवाई टिकटलगायत सम्पूर्ण खर्चसमेत उक्त कम्पनीले व्यहोर्ने छ ।
मलेसियास्थित कम्पनी विस्ट्रोन टेक्नोलोजीले त्यहाँ पुग्दासम्म लाग्ने सबै खर्च आफैंले व्यहोर्ने सर्तमा नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल म्यानपावर कम्पनीसँग मंगलबार सम्झौता गरेको हो । यो रोजगारदाता कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्ड माइक्रोसफ्ट, एचपी, सोनी, लेनोभो, एचटीसी, तोसिबा, इन्टेल लगायतका इलेक्ट्रोनिक सामान उत्पादन गर्छ ।
विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।
यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।
विश्वका १० भन्दा बढी देशमा आफ्नो उत्पादनका लागि उद्योग स्थापना गरेको यो बहुराष्ट्रिय कम्पनीले २०१९ देखि मात्रै मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग स्थापना गरेको छ । ‘मलेसियामा उद्योग स्थापना गरेदेखि नै नेपाली लैजान थालेका हौं,’ पत्रकार सम्मेलनमा विस्ट्रोनका उपमहाप्रबन्धक चोङले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपालबाटै लैजानेछौं ।’
सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १ सय ५० जना महिला र ६० पुरुष तथा लालधनुषले १ सय ७५ महिला र ७५ पुरुष पठाउने सम्झौता भएको छ । यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ । यो कम्पनीमा कार्यरत श्रमिकले १५ सय न्यूनतम तलबसहित २४ सय २१ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाउनेछन् । काम सिकेपछि भने मासिक रूपमा सेवासुविधासहित ३ हजार दुई सय २३ रिंगेट (करिब ९० हजार रुपैयाँ) पाउनेछन् । ‘हामीले कुनै श्रमिकमाथि भेदभाव गर्दैनौं । सीप सिकेपछि तलब, सेवासुविधा बढ्दै जान्छ,’ चोङले भने ।
२०७५ कात्तिक ११ गते शून्य लागतमा मलेसियाले नेपालबाट श्रमिक लैजाने भन्दै श्रम सम्झौता गरेको थियो । कोभिडपछि मलेसियाको रोजगारदाता कम्पनीसँग भिसा नै किन्ने प्रतिस्पर्धा भइरहेका बेला विस्ट्रोनले शतप्रतिशत शून्य लागतमा श्रमिक लैजाने भएको हो । ‘मलेसिया जान घरबाट निस्केदेखि जे जति खर्च हुन्छ, सबै श्रमिकको बैंक खातामा नै रकम सोधभर्ना गरिदिन्छौं,’ आकर्षणका प्रमुख कार्यकारी निर्देशक केसीले भने, ‘कुनै पनि बिचौलियामार्फत श्रमिक लिइनेछैन । सिधै म्यानपावर कम्पनीमा आएका श्रमिकलाई अन्तर्वार्ता लिनेछौं । अन्तर्वार्ता पारदर्शी हुनेछ ।’
चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा विस्ट्रोन कम्पनीको उद्योग छ, जहाँ ८० हजार कर्मचारी काम गर्छन् । कम्पनीको आफ्नै ब्रान्ड उत्पादन नभए पनि ब्रान्ड कम्पनीका इलोक्ट्रोनिक्स सामान उत्पादन गर्छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को निष्पक्ष भर्नासम्बन्धी सामान्य सिद्धान्त तथा कार्यविधिमा श्रमिकसँग भर्ना शुल्क तथा यससँग सम्बन्धित अन्य कुनै पनि खर्च असुल्न नपाइने सुनिश्चित गरिएको छ । तर, यस नीतिलाई रोजगारदाता कम्पनीले पालना नगर्दा वैदेशिक रोजगारीमा जान श्रमिकले म्यानपावर कम्पनीलाई लाखौं रुपैयाँ तिरिरहेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को हालैको अध्ययनअनुसार जम्मा १.४ प्रतिशत श्रमिक मात्रै शून्य लागतमा वैदेशिक रोजगारीमा गइरहेका छन् ।
श्रम प्रशासन विज्ञसमेत रहेका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विस्ट्रोनको अभ्यासले शून्य लागत कार्यान्वयन गर्न सबैको मनोबल बढ्ने बताए । ‘नेपाल सरकारले मलेसियामा शून्य लागतमै श्रमिक पठाउने नीति छ । यसको व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन । विस्ट्रोन नेपालमै आएर म्यानपावरसँग सम्झौता गर्नुले शून्य लागतको नीतिलाई कार्यान्वयन गर्न ठूलो मनोबल पुग्छ, मागपत्रको बेचबिखन हुने कार्य रोक्छ,’ उनले भने, ‘अन्य रोजगारदातालाई पनि पारदर्शीपूर्ण काम गर्न दबाब पुग्छ ।’