शरणार्थी मान्यता दिन रोहिंग्याको माग

29 Jun, 2022

काठमाडौँ — म्यानमारका रोफिक आलम ६ जनाको परिवारसहित बूढानीलकण्ठ नगरपालिका–११ कपन राम मन्दिर छेउ बस्छन् । म्यानमारमा हिंसा भड्किएपछि उनीजस्तै धेरै रोहिंग्याहरू विस्थापित हुन पुगे ।

सन् २०१२ मा रोफिकका आमाबुबा ८ जना छोरालाई लिएर बंगलादेशतिर लागे । आमाबुबासहित ७ जना भाइहरू हाल बंगलादेशस्थित शरणार्थी शिविरमा छन् । रोफिक भने पत्नीसहित दुई छोरा लिएर भारत हुँदै जोगबनी नाकाबाट छिरेर काठमाडौं आइपुगे । यहाँ आएपछि उनीहरूबाट दुई छोराको जन्म भयो ।

बूढानीलकण्ठको कपन राम मन्दिर र लसुनटार शिविरमा ४ सय ६० जना रोहिंग्या बसोबास गर्दै आएको रोहिंग्या शिविरका संयोजकसमेत रहेका आलम बताउँछन् । शिविरमा बालबालिका मात्रै १ सय ८५ जना छन् । यहाँ उनीहरू जग्गा भाडामा लिएर शिविर स्थापना गरेर बसोबास गरिरहेका हुन् । जग्गाधनीले जग्गाको भाडा सयौं गुना बढाएर आफूहरूलाई हटाउन लागेको उनीहरूको गुनासो छ । संकट बढ्दै गएपछि शिविरका रोहिंग्याहरू सोमबारदेखि राजधानीमा प्रदर्शनमा उत्रिएका छन् ।

‘जग्गाधनीले हाम्रो क्याम्प हटाउन खोज्दै छ, अब कहाँ गएर बस्नु ?’ आलमले भने, ‘वार्षिक २ लाख ४० हजार रुपैयाँ तिर्दै आएको जग्गाको भाउ बढाएर १२ लाख रुपैयाँ पुर्‍याएका छन् ।’ बसोबासको सुनिश्चितता, शरणार्थीको मान्यतालगायत ११ बुँदे माग राख्दै रोहिंग्यासहित श्रीलंका, अफगानिस्तान, पाकिस्तान, सोमालिया, इराक, इरानबाट आएर काठमाडौंका विभिन्न स्थानमा बसिरहेकाहरू शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) को महाराजगन्जस्थित कार्यालय अगाडि धर्नामा छन् । मंगलबार पनि बालबालिका विद्यालय पोसाकसहित र मुस्लिम महिलाहरू बुर्कामै बालबच्चासहित वर्षाको प्रवाह नगरी धर्नामा उत्रिए ।

संयुक्त राष्ट्रसंघको सन् १९४८ को मानवअधिकारसम्बन्धी घोषणाले प्रत्याभूत गरेको मौलिक अधिकारको सुनिश्चित हुनुपर्ने, यूएनएचसीआरद्वारा सन् १९८९ मा प्रदान गरिएको बालअधिकार सुनिश्चित गर्नुपर्ने, पेसा छनोट गर्न दिनुपर्ने, सहरी शरणार्थीविरुद्ध भेदभावपूर्ण नीति र प्रावधान परिवर्तन गर्नुपर्ने माग रहेको जाफर मियाँले बताए । उनीहरूले नेपाल सरकारसँग आफूहरूलाई शरणार्थीका रूपमा स्विकार्नुपर्ने, आफ्नो देश फर्कन चाहनेका लागि तत्काल फर्कने व्यवस्था गरिदिनुपर्ने, भुटानी शरणार्थीलाई झैं तेस्रो देश पुनःस्थापना गरिनुपर्ने माग गरेका छन् ।

आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले घाइते हुने गरी हस्तक्षेप गरेको आलमले बताए । रोहिंग्या मात्र होइन, सहरी शरणार्थीका रूपमा काठमाडौंका विभिन्न स्थानमा बसोबास गरिरहेकाहरूको संयुक्त माग भएको र माग पूरा नभएसम्म प्रदर्शन गरिरहने राम मन्दिर कपन बस्दै आएका जाफर मियाँको भनाइ छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मारले अल्पसंख्यक रोहिंग्या मुसलमानलाई बंगलादेशबाट आएका ‘बंगाली’ भन्दै आएको छ । रोहिंग्याका पुस्तौंपुस्ता म्यान्मारमै बसेको भए पनि यस्तो आरोप लाग्दै आएको उनीहरू बताउँछन् । सन् १९८२ देखि लगभग सबै रोहिंग्यालाई नागरिकता दिन पनि म्यान्मारले अस्वीकार गर्दै आएको छ । यही कारणले उनीहरू राज्यविहीन अवस्थामा छन् ।

रोहिंग्याको घर जलाएको, युवाहरूको हत्या, बलात्कार गरेको लगायतका आरोप सरकारी सेनामाथि लाग्दै आएको छ । सरकारी सेनाको कारबाहीबाट बच्न रखाइन राज्य छोडेर भाग्नेको संख्या १० लाखभन्दा बढी रहेको बताइन्छ । ७ लाख रोहिंग्या छिमेकी बंगलादेशमै शरणार्थी जीवन बिताइरहेका छन् भने केही देशभित्रै आन्तरिक शरणार्थी बनेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024