शरणार्थी भनेको त्यो हो, जसले आफ्नो देशमा बस्न पाएको हुँदैन । भुटानका नेपालीभाषी लाखको संख्यामा नेपालमा दशकौं शरणार्थी भएर बसे । भुटानले आफ्ना नागरिक फिर्ता नगरेपछि अमेरिकालगायत देश पुनर्वास गरिएको थियो । तर अहिले आएर त्यही अमेरिकाले पनि नेपाली मूलका भुटानीलाई आफ्नो देशबाट लखेटेको छ ।
अमेरिकाले भुटान वा भारत ल्याएर छाडिदिएका ती शरणार्थी फेरि नेपाल प्रवेश गरेका छन्, जुन उनीहरूको देश भने होइन । उनीहरूकै देश फर्काउन नेपालको प्रयास असफल भएको थियो । पुनर्वासमा गएकाहरू फेरि फर्काइएपछि अब नेपालले पनि के गर्ने ? सबैभन्दा त त्यसरी खेदिएकाहरू अब कहाँ जाने ? नेपालले पनि पक्रेको छ । भुटानले बस्नै दिँदैन, पस्नै दिँदैन । भारतले टिक्नै दिँदैन । अमेरिकाले त झन् खेदिहाल्यो ।
शरणार्थी हुनु आफैंमा अनागरिक हुनु हो । तर मानवीयताका हैसियतमा शरणार्थीलाई शरण दिने कर्तव्य सबै देशको हुन्छ । नेपालले त्यस्तो कर्तव्य भुटानीका हकमा सन् १९९० देखि २००८ सम्मै पालना गरेको हो । कतिपयका लागि अझै पनि गरिरहेको छ । तर भुटान स्वयंले आफ्ना नागरिकलाई अस्वीकार गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । अनि भारत उसैलाई धाप मार्दै आफ्नोमा टिक्नै दिन्न र नेपालै पठाइदिन्छ । नेपाललाई भुटानले नटेर्नुको पछाडि पनि भारतीय नै हात छ । कम्तीमा मानवीय मूल्यलाई ख्याल गर्दै शरणार्थीप्रति उसले करुणा राख्नुपर्ने थियो, त्यसमा ऊ चुकेको छ र भुटानलाई संरक्षण गरेको छ ।
अमेरिकाले कतिपय अवाञ्छित गतिविधिका आप्रवासी खेद्ने क्रमलाई तीव्रता दिएको छ । एक त अपराधीको पनि अधिकार हुन्छ भने झन् शरणार्थीलाई उसले पनि मानवीय व्यवहार देखाउनुपर्ने हुन्थ्यो । अपराध कार्यमा सामेल भए पनि आफ्नै देशको ऐन/कानुनबमोजिम स्वदेशमै कारबाही प्रक्रियामा ल्याउन सक्थ्यो । तर, देशै नभएका नागरिकलाई अलपत्र पार्ने अवस्थामा पुर्याएको छ । प्रश्न कुनै व्यक्तिको नागरिकताको मात्रै होइन, मानवीयता हो । नागरिकता वा राष्ट्रियताकै पहिचान नभएको आधारमा मानिसलाई गरिनुपर्ने सामान्य व्यवहार गर्न कुनै पनि राज्य चुक्नु हुँदैन ।