९ जेठ, काठमाडौं । सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा स्वघोषणा फारम भर्नुपर्ने व्यवस्था गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा कुनै ठगी भएमा वैदेशिक रोजगार कार्यालय र वैदेशिक रोजगार विभागविरुद्ध उजुरी नगर्ने कागज गराउने गरी स्वघोषणा फारम भर्नुपर्ने व्यवस्था गरिएको हो ।
स्वघोषणा फारममा म्यानपावर कम्पनीसँग कुनै पनि काम र कारोबार नगरेको समेत घोषणा गर्नुपर्ने भएको छ । यसले भविष्यमा म्यानपावरविरुद्ध कुनै कानुनी लडाइँ लड्न सेमत श्रमिकलाई अप्ठेरो पर्न सक्ने देखिएको छ ।
स्वघोषणा फारमका कारण पीडित श्रमिकले सरकार र म्यानपवारविरुद्ध कुनै उजुरी गर्न नपाउने अवस्था बन्ने भएको छ । ‘कुनै म्यानपावर कम्पनी वा इजाजतवाला कम्पनी वा अन्य कुनै व्यक्तिमार्फत काम गरेको छैन,’ फारममा उल्लेख छ,‘म स्वविवेकमा विदेश काम गर्न जान लागेकाले हवाई यात्रा वा कार्यस्थलमा पुगेपछि कुनै पनि व्यवधान आइपरेमा म सहुँला बुझउँला, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयका विरुद्ध कहिँकतै पनि उजुरी गर्ने छैन भनी राजु खुसीले स्वघोषणा गर्दछु ।’
अहिले कतिपय म्यानपावर कम्पनीले ल्याएको भिसामै पनि व्यक्तिगत श्रम स्वीकृति जारी हुने भएकाले स्वघोषणा फारमको व्यवस्था गरिएको हो । तर, यस्तो फारमले इजाजतपत्र प्राप्त कम्पनीले भिसा ल्याएर श्रमिकमार्फत व्यक्तिगत श्रम स्वीकृति लिएमा म्यानपावर कम्पनी जिम्मेवार हुनुनपर्ने गरी कागज गराउन थालिएको हो ।
वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद भुसाल श्रमिकलाई आफैं जिम्मेवार बनाउनका लागि यस्तो व्यवस्था गरिएको दाबी गर्छन् । ‘उहाँहरुको वैदेशिक रोजगारी सुरक्षिता होस् भनेर व्यक्तिगत पहलमा आएका भिसाबारे श्रमिकले नै स्वघोषणा गर्ने व्यवस्था गरेका हौं,’ उनले भने ।
सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषका लागि शुल्क लिएर मात्रै वैदेशिक रोजगारीमा जान अनुमति दिन्छ । तर, ‘हवाई यात्रा वा कार्यस्थलमा पुगेपछि कुनै पनि व्यवधान आइपरेमा सहुँला बुझउँला’भन्दै गरिएको कागजातबाट सरकारले अप्ठेरोमा पर्दा समेत कोषको पैसा उपयोग गरेर नसघाउने संकेत गरेको छ ।
गत ६ जेठबाट वैदेशिक रोजगार कार्यालय, काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्न थालिएको छ ।
नयाँ व्यक्तिगत श्रम स्वीकृतिको लागि अनलाइनमा भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखिकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अपलोड गर्नुपर्ने हुन्छ ।
श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावासको सिफारिस पत्र पनि अपलोड गर्नुपर्छ।
वैदेशिक रोजगारको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकोले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ।
व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को प्रकृया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा २०७९ वैशाखदेखि सरकारले क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।
कार्यालयले रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।