व्यक्तिगत प्रयासमा कुवेत जाने महिला बढे

29 May, 2012

होम कार्की

कुवेतमा व्यक्तिगत प्रयासमा घरेलु कामदार (हाउसमेड) बन्न जाने महिला ह्वातै बढेका छन् । दिनहुँ करिब सय महिला श्रम स्वीकृति लिएर त्यता गइरहेका छन् ।

संस्थागत जिम्मेवारी नभएपछि ग्रामीण भेगका अशिक्षित महिला दलाल मार्फत कुवेत गइरहेका हुन् । ‘नेपाल र कुवेतका एजेन्सीबीच कुनै सम्झौता वा संयन्त्र नभएकाले महिलाहरू व्यक्तिगत रूपमा त्यता गइरहेको देखिन्छ,’ कुवेतका लागि नेपाली राजदूत मुधवन पौडेलले भने, ‘अप्रत्यक्ष रूपमा केही नेपाली एजेन्सीहरूको समेत यसमा संलग्नता रहेको शंका छ ।’

सरकारले दूतावासको जिम्मेवारीमा हाउसमेड पठाउने नीति लिएपछि यो वर्ष मात्रै विभागबाट श्रम स्वीकृति लिई कुवेत जाने महिला ८ हजार ३ सय पुगेका छन् । विगतमा घरेलु कामदारका रूपमा जाने महिला कामदारलाई श्रम स्वीकृतिको व्यवस्था नहंँदा अनधिकृत रूपमा जाने गरेका थिए । बिनास्वीकृति गएका महिला कामदारहरूको संख्या कुवेतमा मात्र ३० हजार रहेको अनुमान छ । ‘केही देशहरूले प्रतिबन्ध लगाउने, उमेरको हद तोक्ने र एजेन्सीहरूबीच सम्झौता गराएर मात्रै अनुमति दिन थालेकाले नेपाली कामदारको संख्या वृद्धि भएको हो,’ राजदूत पौडेलले भने ।

सरकारले गत वर्षदेखि न्यूनतम पारश्रमिक, बिमा, तालिम लगायत आधारभूत मापदण्ड पूरा भएको अवस्थामा नेपाली राजदूतावासको सिफारिसमा घरेलु कामदार पठाउने व्यवस्था गरेको थियो । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा निकै संवेदनशील भएको जनाएकोछ । ‘संख्या अत्यधिक बढ्यो । यसमा संस्थागत जिम्मेवारी देखिएन,’ विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘त्यसकारण सकेसम्म पठाउने दलाल पहिचान गर्ने प्रयास भइरहेको छ ।’

निकै कम उमेरका युवतीहरू कुवेत गइरहेको पाइएको छ । दूतावासले १४ वर्षसम्मका किशोरी समेत आउन थालेको जनाएको छ । विभागले कम उमेरमा जाने युवतीको संख्या बढिरहेकाले विद्यमान प्रणालीमा थप सजगता अवलम्म्बन गर्न आवश्यक भएको दूतावासमा जानकारी गराएको छ । ‘उमेर बढाएर आएको थाहा पाउनेबित्तिकै अभिभावक बोलाउन थालेका छौं,’ व्यक्तिगत शाखाका निर्देशक अनिल गुरुङले भने, ‘यस्तो गर्न थालेपछि दोहोर्‍याएर आउँदैनन् ।’

कुवेतमा महिला कामदार लैजान लाइसेन्सप्राप्त एजेन्सी छन् । अरू देशबाट ती एजेन्सीले सरकरी निकाय वा स्थानीय एजेन्सीमार्फत ल्याउने गर्छन् । ‘हामीकहाँ त्यस्तो भइरहेको छ्रैन,’ राजदूत पौडेलले भने, ‘हाम्रो सरकारले तत्काल यसबारे पुनर्विचार गरी सरकारीस्तर अथवा एजेन्सीहरूबीच सम्झौता गरेर मात्रै लैजान पाउने प्रावधान राख्नुपर्छ ।’ नेपालका एजेन्सीहरू भने संस्थागत रूपमा महिला कामदार पठाउन इच्छुक देखिएका  छैनन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने हाउसमेडले सबै जिम्मेवारी आफैंले लिनुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024