काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, ललितपुरको महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका-४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन्।
पक्राउ मध्ये सम्पूर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रुपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ र सरस्वतीले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको पीडितले उजुरी दिएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पूर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाइएको छ।