गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १२ गते । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिनुभएको हो ।
श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा यूएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताउनुभयो । कार्यक्रममा यूएईका श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो । नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको यूएईमा साढे दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता थियो ।