वैदेशिक रोजगार बचतपत्रको ब्याजदर १२.५० प्रतिशत

10 May, 2022

काठमाडौँ — आउँदो जेठमा बिक्री खुला गर्ने तयारीमा रहेको वैदेशिक बचतपत्रमा राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । गत वर्षको तुलनामा यो वर्ष उक्त बचतपत्रमा प्रदान गर्न लागिएको ब्याजदर २.५० प्रतिशत बिन्दुले बढी हो । गत वर्ष बचतपत्रमा राष्ट्र बैंकले १० प्रतिशत ब्याजदर दिएको थियो ।

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले आउँदो जेठ १८ देखि असार ६ सम्म पाँचवर्षे परिपक्व अवधि भएको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै छ । यसका लागि विदेशमा बस्ने नेपालीहरू संलग्न सबै संघसंस्थालाई पत्र पठाएर विश्वभर रहेका नेपालीसमक्ष उक्त जानकारी पुर्‍याउन राष्ट्र बैंकले आग्रह गरेको छ । यसअनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार गैरआवासीय नेपाली संघलाई पत्र पठाएर वैदेशिक रोजगार बचतपत्र बिक्रीसम्बन्धी जानकारी विदेशस्थित सम्पूर्ण गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूलाई उपलब्ध गराइदिन आग्रह गरेको छ ।

यस वर्षदेखि वैदेशिक रोजगारीमा गएकाहरूले आफू भएकै स्थानबाट अनलाइनमार्फत बचतपत्र किन्न सक्छन् । यसमा लगानी गरेको रकममा कर लाग्दैन । ६/६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । चालु आर्थिक वर्षका लागि सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बेच्न लागेको हो । गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरिएकामा करिब ११ प्रतिशत मात्र बिक्री भएपछि यस वर्ष सरकारले आधा घटाएर निष्कासन गर्दै छ । वैदेशिक रोजगारीमा गएकाले मात्र खरिद गर्न पाउने बचतपत्र हो यो ।

विगतका तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा पनि वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले लक्षित आन्तरिक ऋण उठाउन नसक्ने निश्चित जस्तै छ । पछिल्ला १० वर्षमा यो औजारमार्फत सरकारले कुनै पनि वर्ष लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सकेको छैन । यही कारण यस वर्ष पनि नसक्ने जानकारहरूको विश्लेषण छ । गएको १० वर्षमा सरकारले कुल १३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरेको छ । यसमध्ये ६७ करोड ९२ लाख रुपैयाँ मात्र बिक्री भएको छ । यो कुल आह्वान भएको रकमको करिब ५ प्रतिशत मात्र हो । हरेक वर्ष अपेक्षाभन्दा धेरै कम मात्र बिक्री भएपछि सरकारले गत वर्षभर नै वैदेशिक रोजगार बचतपत्र बिक्री गरेको थियो । यति गर्दा पनि आह्वान गरिएको मध्ये करिब ९० प्रतिशत बिक्री भएन । यही कारण यस वर्ष गत वर्षको तुलनामा आधा घटाएर ५० करोड रुपैयाँमा झारिएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको थियो । सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आन्तरिक तयारी अघि बढाएको हो । गत आर्थिक वर्षमा बजारमा ब्याजदर कम थियो । त्यति बेला बैंक ब्याजदरभन्दा बचतपत्रबाट प्राप्त हुने ब्याज धेरै थियो । यस वर्ष ब्याजदर बढेको छ । यसकारण बचतपत्रको ब्याजदरभन्दा बैंकको ब्याजदर उच्च हुने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीले खरिद गर्न पाउँछन् । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि नै यस्तो बचतपत्र निष्कासन सुरु गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024