वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सारिँदै, सेवाग्राहीलाई सास्ती थपिने चिन्ता

5 Jul, 2024

काठमाडौं बबरमहलमा रहेको वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सर्ने भएको छ।

सर्वोच्च अदालतको व्यवस्थापन समितिले न्यायाधिकरणलाई भक्तपुरस्थित जिल्ला अदालतको पुरानो भवनमा सार्ने निर्णय गरेको न्यायाधिकरणका रजिष्ट्रार दिनेश आचार्यले बताए।

आगामी आर्थिक वर्षदेखि भक्तपुर सार्ने निर्णय सर्वोच्चबाट भएको उनले जानकारी दिए।

वैदेशिक रोजगारी ठगीका मुद्दा हेर्ने एक मात्रै न्यायाधिकरण काठमाडौंबाट भक्तपुर सर्दा सेवाग्राहीहरू निकै मर्कामा पर्ने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

कानुनी उपचारका लागि विभिन्न जिल्लाबाट काठमाडौं आउने सेवाग्राही फेरि न्यायाधिकरणका लागि भक्तपुर पुग्नुपर्ने अवस्थाले सेवाग्राही मारमा पर्ने वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेकाहरूलाई निःशुल्क कानुनी सहायता दिँदै आएको संस्था पिपुल फोरमका संस्थापक अध्यक्ष एवं अधिवक्ता सोम लुइँटेलले बताए।

हाल श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड, विशेष सरकारी वकिलको कार्यालय, न्यायाधिकरण सबै सम्बन्धित निकाय नजिक छन्।

अब न्यायाधिकरण भक्तपुर सारिँदा बाहिरी जिल्लाबाट काठमाडौं आएका सेवाग्राहीलाई त्यहाँसम्म धाउन सास्ती हुने अधिवक्ता लुइँटेलको भनाइ छ।

‘विभाग पनि पहिले बुद्धनगर थियो। अहिले ताहाचल सारिएको छ। दूरी टाढा हुँदा अहिले त सेवाग्राहीलाई कति झन्झट भइरहेको छ। अब भक्तपुर सारेपछि सेवाग्राहीहरू मर्कामा पर्छन्। सकेसम्म सबै निकाय नजिकै बनाइनुपर्नेमा भक्तपुर सारेर असहज बनाइँदैछ,’ उनले भने।

अहिले विशेष सरकारी वकिलको कार्यालय र न्यायाधिकरण नजिकै छ। तर अब भक्तपुर सर्दा सेवाग्राहीलाई सास्ती हुने उनको भनाइ छ। वैदेशिक रोजगार सम्बन्धीका मुद्दाहरू विशेष सरकारी वकिलको कार्यालयले पनि न्यायाधिकरण भक्तपुर सर्दा सेवाग्राहीलाई असहज हुने बताएको छ।

न्यायाधिकरण भक्तपुर सार्ने निर्णय परिवर्तन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024