वैदेशिक रोजगार: खोटाङमा चार महिनाको अवधिमा एक हजार ७९२ जनाले लिए श्रम स्वीकृति

14 Dec, 2021

यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन्। 

सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ पुरुषले श्रम स्वीकृति लिएका छन्। सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक सङ्ख्यामा श्रम स्वीकृति लिएको पाइएको हो।

दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए। मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन्।

कोरोना महामारीकैबीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको राईले जानकारी दिए। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको पाइएको छ। यतिसम्म कि एउटा घरका बुबा, छोरीछोरी तथा बुहारी गरी पाँच जनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

पहाडी भूभाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताउने गरेका छन्। वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको सामीमा वैदैशिक रोजगारसँग सम्बन्धित नौँ उजुरी परेका छन्। खोजी तथा उद्धारमा पाँच, मृत्यु भएकाको शव झिकाइदिन एक, आर्थिक सहयोगका लागि दुई तथा मेनपावरले दुःख दिएकामा एउटा उजुरी परेको हो।

विगत चार महिनको अवधिमा वैदेशिक रोजगारसम्बन्धी जानकारी लिन दिक्तेलस्थित सूचना केन्द्रमा महिला १८२ र पुरुष ४६१ आएका आएका छन्। वैदेशिक रोजगारीमा गएका घरपरिवारका महिला सदस्यलाई सामीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान तथा सीप दिँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024