वैदेशिक रोजगार कार्यालयमा अनलाइन सेवा

2 Dec, 2018

वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन सेवा सुरु गर्ने भएको छ। नयाँ, रि–इन्ट्री, लिगलाइजेसनलगायत सेवा लिन सेवाग्राहीले अनलाइनबाटै सम्पूर्ण कागजात पेस गर्नुपर्नेछ। कार्यालयका अनुसार सेवाग्राहीले स्क्यान गरेर वैदेशिक रोजगार विभागमा कागजात पठाउनुपर्नेछ।

सिस्टममा कागजात पठाएपछि अनलाइनबाटै सेवाग्राहीले समय, मिति र अनलाइन टोकन नम्बर (सिरियल) पाउनेछन्। आइतबारदेखि अनलाइन टोकनका आधारमा मात्र सेवा दिने विभागले जनाएको छ। कार्यालय प्रमुख युवराज खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइनबाट सेवा दिन थालिएको जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको संयोजनमा असोज १५ गतेदेखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली कार्यान्वयनमा ल्याएको थियो। तर, वैदेशिक रोजगार कार्यालय ताहचालले सूचना प्रणाली कार्यान्वयनमा आएको दुई महिना बितिसक्दासम्म अनलाइन सेवा सुरु गर्न सकेको थिएन। सूचना प्रणाली अन्तर्गत सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलागयत सेवा एकैद्वारबाट पाउनेछन्।

कार्यालय प्रमुख खतिवडाले अनलाइनबाटै सेवा दिन सुरु गरेपछि कार्यालयमा भीडभाड अन्त्य हुने दाबी गरे। ‘अब सेवाग्राही घण्टौं लाइन लाग्नुपर्ने अवस्था हुने छैन’, उनले भने, ‘आफ्नो समयमा आएर सहज तरिकाले सेवा लिन सकिन्छ।’ यस्तो सेवाका लागि सेवाग्राही आफैंले फारम भर्न सक्नेछन्। सेवाग्राही अलमलिए कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि अनलाइनबाट फारम भर्न सक्नेछन्। सेवाग्राहीले फारम स्कानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन सिस्टममा फारम अपलोड गर्नुपर्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024