२९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा भएको १५ करोड रुपैयाँ ठगी प्रकरणमा पीडित नै थुनामा परेको पाइएको छ ।
डिल्लीबजार कारागारमा थुनामा रहेका राजुकुमार बस्नेतले आफू नै ठगीमा परेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १६ जेठमा जाहेरी दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ का २८ वर्षीय राजकुमार भट्ट, पोखरा महानगरपालिका–८ का २३ वर्षीय पवन पन्त र कास्कीको माछापुच्छ«े गाउँपालिका–८ का २२ वर्षीय नवीन विकलाई पक्राउ गरेको छ । यी तीनमध्ये ठगीका मुख्य योजनाकार राजकुमार भट्ट रहेको प्रहरीको भनाइ छ ।
यी तीन जनाको समूहले हाल डिल्लीबजार कारागारमा रहेका बस्नेतसहित ३०० जना युवाबाट १५ करोड रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
पीडितलाई उल्टै मुद्दा ?
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको भन्दै विकास राणासहितले दिएको जाहेरीका आधारमा प्रहरीले गत वर्ष पुसमा राजुकुमार बस्नेत, राजेश श्रेष्ठ, हरिबहादुर कामी, सुनबहादुर बुढा, प्रभाकर भट्टराई र शेरबहादुर तामाङलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको थियो ।
विभागले चलाएको मुद्दाका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणले २८ पुस २०८० मा सुनबहादुर बुढालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यस्तै राजुकुमार बस्नेतसहित अरु ५ जनासँग धरौटी माग गरेको थियो । २५ लाख धरौटी बुझाउन नसकेपछि बस्नेत कारागार चलान भए भने अरु ४ जना धरौटी बुझाएर छुटेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यायाधिकरणले मुद्दा चलाएकाहरु नै पीडित देखिएका छन् । ‘न्यायाधिकरणका आदेशले जो व्यक्ति अहिले जेलमा छन् उनी नै पीडित देखिएको छ । उनकै जाहेरीका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौं’, अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने ।
न्यायाधीकरणको आदेशपछि धरौटी बुझाएर छुटेका तीन जनाले पनि आफूहरु पीडित भएको उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन् ।
वैदेशिक रोजगार विभागले घटनाको राम्रोसँग अनुसन्धान नगरी मुद्दा चलाएका कारण पीडित नै थुनामा पुगेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
एक अनुसन्धान अधिकृतका अनुसार वैदेशिक रोजगार विभागले मुद्दा चलाएका ६ जना व्यक्तिहरुको बैंक खाता हाल पक्राउ परेका ठगीका मुख्य योजनाकार मानिएका राजकुमार भट्टले प्रयोग गरेको पाइएको छ ।
विदेश जान चाहनेहरुले ती ६ जना युवाको बैंक खातामा रकम जम्मा गर्र्ने गरेका थिए । उक्त रकम निकालेर राजकुमार भट्टले नै प्रयोग गर्ने गरेको दाबी प्रहरीको छ ।
‘पीडित भनेर जाहेरी दिएका व्यक्तिले रकम जसको खातामा हालेको बताएका छन्, उनीहरुलाई सोझै मुद्दा चलाइयो । तर यो पैसा कहाँ गयो ? कसले जम्मा गर्न लगायो ? भन्नेतर्फ अनुसन्धान नगर्दा पीडितविरुद्ध नै मुद्दा चलेको देखियो’, ती अधिकृतले अनलाइनखबरसँग भने ।
यसअघि न्यायाधीकरणले मुद्दा चलाएका ६ जनालाई राजकुमारले लेखापालको जागिर दिन्छु भन्दै उनीहरुको बैंक खाता प्रयोग गरेका थिए । नेपालमा आफ्नो घर तथा व्यापार व्यवसाय रहेको भन्दै त्यहाँको कारोबार सम्हाल्न लेखापाल चाहिएको भन्दै राजकुमारले ३० देखि ४० हजार रुपैयाँ मासिक तलब दिने भन्दै ६ जनाको बैंक खाता प्रयोग गरेका थिए ।
बैंक खातामा रकम जम्मा हुनेवित्तिकै राजकुमारले झिक्न लगाएर आफैंले लिने गरेको उजुरीकर्ताहरुले बताएका छन् । बिना कसुर आफूहरुविरुद्ध मुद्दा चलेपछि पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए ।
उनीहरुको बयानमा केन्द्रित भएर वैदेशिक रोजगार विभागले थप अनुसन्धान अघि नबढाउँदा पीडितहरुले मुद्दा खेप्नुपरेको प्रहरी अधिकारी बताउँछन् ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी ठगीमा प्रयोग भएको बैंक खाता धनीविरुद्ध मुद्दा चलेको हुन सक्ने बताउँछन् ।
‘बैंक खातामात्रै प्रयोग भएका व्यक्तिविरुद्ध मुद्दा नै चलेन होला भन्न सकिन्न । अहिलेको यो घटनाबारे चाहिँ मलाई ठ्याक्कै याद भएन । अनुसन्धानको सीमितता र स्रोत साधनका कारण यस्ता घटना भएका हुन सक्छन्’, उनले भने ।
सामाजिक सञ्जालमै विश्वास पारेर १५ करोड ठगी
ठगीको आरोपमा अहिले पक्राउ परेका तीन जनाको समूहले प्रत्यक्ष भेटघाट नै नगरी सामाजिक सञ्जालमार्फत नै १५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।
उनीहरुले फेसुबक, ह्वाट्स एपलगायत सामाजिक सञ्जालमा रविन आले मगर, मनोजजंग थापा, महेश थापा आदि नामको फेक आइडी बनाएर कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स आदि देशमा रोजगारीको अवसर रहेको सूचना प्रकाशित गर्ने गरेका थिए ।
यो सूचना हेरेर बिदेश जान इच्छा देखाउनेहरुलाई बैंक खातामा रकम जम्मा गर्न लगाउने र केहीसँग भेटेर नगद नै बुझेर ठगी गरेको पाइएको अनुसन्धान अधिकृत डीएसपी गोविन्द पन्थी बताउँछन् ।
तर उनीहरुले यसका लागि कुनै अफिस भने खोलेका थिएनन् । विभिन्न रेष्टुरेन्ट र चिया पसलहरुमा भेट गरेर चेक तथा नगद बुझ्ने र बैंक खातामा जम्मा गर्न लगाउने गरेको पाइएको छ ।
सुरुमा केही रकम दिएपछि भिसा, वर्क परमिट, होटल बुकिङ र पुलिस रिपोर्ट समेत फेक बनाएर देखाउने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यसपछि हवाइ टिकट किन्न र डलर साट्न रकम चाहिएको भन्दै प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
यो ठगीका मुख्य योजनाकार राजकुमार भट्ट रहेको प्रहरीले जनाएको छ । भट्टको समूहले विगत ३ वर्षदेखि यो शैलीबाट १५ करोड ठगी गरेको प्रहरीको दाबी छ ।