वैदेशिक रोजगारीले बढाउँदै पारीवारिक विखण्डन

6 Dec, 2018

रोजगारीका लागि मलेसिया गएका छोरा उतै बेपत्ता भएपछि धादिङको सिद्धलेक गाउँपालिकामा पर्ने कुम्पुरकी देवकी पण्डितलाई न दिनमा भोक लाग्छ न रातमा निद्रा। घरको आर्थिक अवस्था सुधार गरेर परिवारको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ मलेसिया गएका उनका छोरा दामोदर पण्डित १० वर्षदेखि सम्पर्कविहीन छन्। देवकीले भनिन्, ‘न फोनमा कुरा गर्न पाइन्छ न घर नै फर्कन्छ, अब त बुढेसकालमा छोराको माया पाउँछु कि भन्ने आस पनि मरिसक्यो।’

धादिङ जिल्ला अदालतको तथ्यांकअुनसार भदौ १ गतेयता २७ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्। यसरी मुद्दा दिनेमा धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएका छन्। स्वदेशमा रोजगारी नहुँदा वैदेशिक रोजगारी धेरै नेपालीको बाध्यता बनेको छ। परिवारको दुई छाक टार्न पनि धौ–धौ भएपछि जायजेथा सबै धितो राखेर वैदेशिक रोजगारीमा गएका कतिपय विदेशमै बेपत्ता तथा परिवारसँग सम्पर्कविहीन हुने गर्दा परिवारमा विखण्डन तथा मानसिक समस्या बढ्दो छ। रोजागारीका लागि मलेसिया नै गएका नलाङका समीर सिलवाल १४ वर्षदेखि घर फर्किएका छैनन्। घरको कमजोर आर्थिक अवस्था सुधार भनेर कमाउन विदेश गएको जेठो छोरो फर्केला कि भनेर आस गर्दागर्दै उनका बुबाआमा मानिसक रोगी भइसकेका छन्।

‘आज आउला कि भोलि आउला कि भन्दाभन्दै १४ वर्ष बितिसके,’ समीरका बुबा पूर्णप्रसाद सिलवालले भने, ‘तर छोरो आउँदै आएन।’ उनी बेपत्ता भएदेखि उनका बुबाआमाका आँखा कहिले ओभानो हुन पाएका छैनन्। यसरी विदेशमै बेपत्ता हुनेका श्रीमतीका पीडा झन् दर्दनाक छ। वैदेशिक रोजगारीमा गएका श्रीमान् उतै बेपत्ता हुँदा काखे बच्चाको स्याहार–सुसारदेखि घरका कामसम्म सबै एक्लैले गर्नुपर्दा उनीहरूका दिन तनावै तनावमा बित्ने गरेका छन्। यही तनावकै कारण कतिपय महिलामा मानसिक समस्यासमेत देखिएको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाकी २३ वर्षकी महिलाको परिवारमा वैदेशिक रोजगारीले विखण्डन ल्याएको छ। घरको आर्थिक संकट टार्न भनेर कमाउन कतार गएका श्रीमान्ले पैसा होइन, सौता लिएर आए। त्यसपछि उनलाई श्रीमान्ले दैनिक पिट्न थाले भने सासु–ससुराले पनि हेला गर्न थाले। सहनै नसकेपछि उनी अहिले घर छाडेर अन्तै बस्ने गरेकी छन्। उनी आफैं अब वैदेशिक रोजगारीमा जाने तयारीमा लागेकी छन्। काखमा रहेकी छोरीले बाबा खोइ भन्दा उनी जवाफ दिन सक्दिनन्।

विदेशमा काम गर्न गएका अधिकतर व्यक्तिका परिवारको अवस्था उस्तै छ। घरमा बुबा नहुँदा आमाले भनेको नमान्ने, विद्यालय जान नमान्ने, बीचमै पढाइ छाड्ने, बुबा साथमा नहुँदा न्यास्रो हुनेजस्ता समस्या बालबालिकामा देखिने गरेका छन्। विदेशमा बिरामी हुँदा होस् वा दुर्घटनामा पर्दा। गाह्रो काम पर्दा होस् वा भनेको काम र तलब नपाउँदा। त्यसको पीडासमेत घरमा बसेका परिवारले भोग्नुपर्ने हुन्छ। धादिङको तथ्यांकअनुसार वार्षिक करिब १० हजार जना वैदेशिक रोजागरीमा जाने गरेका छन्। यस जिल्लाका युवा खासगरी मलेसिया, कतार, दुबई लगायतका मुलुकमा जाने गरेका छन्। यसरी विदेश जाने १८ वर्षदेखि २५ वर्ष उमेरका हुने गरेका छन्। यीमध्ये ८० प्रतिशत बिनासीप विदेश गएको पाइएको छ। धादिङ जिल्ला अदालतको तथ्यांकअुनसार भदौ १ गतेयता २७ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्। यसरी मुद्दा दिनेमा धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएका छन्। सोलुखुम्बुमा सम्बन्ध विच्छेद बढ्दो सोलुखुम्बु – सोलुखुम्बुमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने क्रम बढेको पाइएको छ। जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा सम्बन्ध विच्छेदसम्बन्धी १९ घटना दर्ता भएकामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै १८ मुद्दा परिसकेका छन्।

उक्त १८ मुद्दामध्ये ६ पुरुष र १२ महिलाले दर्ता गराएको जिल्ला अदालतका नायब सुब्बा भगीश्वर रसाइलीले जानकारी दिए। ‘पुरुषले दर्ता गराएका कुनै पनि मुद्दाको फैसला गरिएको छैन,’ उनले भने, ‘महिलाले दर्ता गराएका ६ मुद्दाको फैसला भइसकेको छ भने ६ वटाको फैसला प्रक्रिया जारी छ।’ नयाँ मुलुकी संहितामा पुरुषले पनि सजिलै सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था भएकाले पनि यस्ता मुद्दा बढेको हुन सक्ने रसाइलीको अनुमान छ। अदालतमा आउने मुद्दामा सुरुमा मेलमिलाप गर्न कोसिस गर्ने र नसकिए सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था छ। आफू वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको थाहा पाएर पुरुषले तथा श्रीमान्को दुव्र्यवहार, व्यावहारिक समस्या र आपसी झगडाका कारण महिलाले सम्बन्ध विच्छेदको मुद्दा दिने गरेको अदालतले जनाएको छ। दर्ता भएका सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा एक वर्षभित्र फैसला गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024