वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई मेनपावरका सञ्चालक पक्राउ

21 Dec, 2023

काठमाडौं : नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुईजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–९ घर भइ हाल काठमाडौं महानगरपालिका–३१ बस्ने उक्त मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरुले ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै एक लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024