वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति अन्त्य गर्छौं : प्रधानमन्त्री

23 Jan, 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’

प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलूकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । प्रधानमन्त्रीले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु।’

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे। उनले भने, ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु। यो व्यवसाय संवेदनशील छ। यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ। यसभित्र थुप्रै विकृति र विसंगति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईंहरूको साथ हुनेछ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024