वैदेशिक रोजगारीमा ठगीका घटना बढे

28 Nov, 2022

सविता खड्का

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस क्षेत्रमा हुने ठगीका घटना पनि बढेका छन्। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी १ हजार १ सय ४८ जनाले यस क्षेत्रमा भएका ठगीसम्बन्धी उजुरी दर्ता गराएका छन्। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का अनुसार उजुरी दिनेहरूमध्ये पुरुष एक हजार ७ जना र महिला एक सय ४१ जना रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत र संस्थागत गरी ३ हजार एक सय ५५ जनाले ठगी सम्बन्धी उजुरी दर्ता गराएको फोरममा कार्यरत अधिवक्ता सुदिप देवकोटाले बताए। संस्थामा वैदेशिक रोजगारीमा जाने कामदारले प्रत्येक दिन जस्तो ठगीका घटना तथा उनीहरूले भोग्नुपरेका विभिन्न कठिनाइबारे उजुरी दिने गरेका छन्। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भनिरहँदा श्रमिक ठगिने तथा उनीहरूले भोगिरहेका घटनामा कमी आउन भने सकेको छैन।

सरकारले वैदेशिक रोजगारीका लागि जाने कामदारको सुरक्षाका लागि देशमा जति रेमिट्यान्स भित्रिने गरेको छ त्यसको अनुपातमा खर्च गर्न नसक्दा विकृति बढ्दै गइरहेको पिपुल फोरमद्वारा सञ्चालित निःशुल्क कानुनी सहायता कार्यक्रमका संयोजक अधिवक्ता देवकोटाले बताए। सरकार, व्यवसायी र अधिकारकर्मीले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत नभएको भन्दै दोष दिने गरेएको भए पनि युवाको उजुरी सुनुवाइ हुन सकेको छैन। वैदेशिक रोजगार सम्बन्धी कुनै पनि कार्यक्रमहरूमा सरकारी निकायले कामदारको हितमा सही निर्णय गर्न नसक्दा विभिन्न बहानामा नेपाली युवा ठगिने क्रम बढेको उनले बताए।

आर्थिक वर्ष २०७६/०७७ देखि २०७९ को कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी ६ हजार ७ सय ७८ जना श्रमिकले विभिन्न खालका ठगी भएको दाबीसहित उजुरी गरेको फोरमले बताएको छ। फोरमको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७८/२०७९ मा उजुरी गर्नेको संख्या २ हजार ९२ जनाले बढेको छ। आर्थिक वर्ष ०७८/७९ मा व्यक्तिगत र संस्थागत गरी ३ हजार १ सय ५५ जनाको उजुरीमध्ये पुरुष २ हजार ७ सय २८ र महिला ४ सय २७ जना रहेका छन्।

त्यसैगरी आर्थिक वर्ष ०७७/७८ मा व्यक्तिगत र संस्थागत रूपमा उजुरी गर्नेहरू १ हजार ४ सय १२ जना रहेका छन्। तीमध्ये पुरुष १ हजार २ सय ४४, महिला १ सय ६८ जना रहेका छन्। वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति सुधारमा सरकार र व्यवसायीले एक अर्कालाई दोष थुपारेर बसिरहेको अधिवक्ता देवकोटाले बताए।

वैदेशिक रोजगारीमा गएका कामदार विदेशमा भन्दा स्वदेशमै ठगीमा पर्ने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ। स्वदेशमा रहेको अवस्थामा चालु आर्थिक वर्ष यता कात्तिकसम्ममा पैसा लिएको तर विदेश नपठाएको संख्या ४ सय २२ जना रहेको फोरमको तथ्यांकमा देखिन्छ।

त्यस्तैगरी विदेश पठाउँछु भन्दै आश्वासन दिएर विदेश नपठाएको भन्दै १ सय २ जना, विदेश पठाउँछु भन्दै पासपोर्ट लिने तर नपठाइ पासपोर्टसमेत फिर्ता नगरेको भन्दै ३१ जना र अन्य कारणबाट विदेश नपठाइएका ३० जनाले उजुरी दिएको पनि उक्त संस्थाको तथ्यांकमा देखिन्छ।

वैदेशिक रोजगारीमा गएका पीडितहरू अधिकांश आफ्नै आफन्तबाट ठगिएको अधिवक्ता देवकोटाले बताए। पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारका लागि जाने क्रम बढिरहेको छ। जसले गर्दा विभिन्न मुलुकमा गएर युवाहरू अलपत्र पर्ने गरेको पनि उनले बताए। उनले भने, ‘क्षणिक लाभका लागि गरिबको पसिनाको कमाइ खाएर श्रमिकको जिन्दगी धरापमा पार्ने प्रवृत्ति बढिरहेको छ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024