दाङका ४३ वर्षीय रूपलाल चौधरीको चार वर्ष मलेसियामा काम गरेर घर फर्कने वेलामा मलेसियाकै एयरपोर्टमा अचानक मृत्यु । दक्षिण कोरियामा कामदारका रूपमा गएका खोटाङका ३२ वर्षीय कल्याण राईको राति सुतेको अवस्थामा निधन । यस्ता अकल्पनीय समाचार पछिल्ला दिनमा सामान्य बन्दै गएका देखिन्छन् । यसरी नेपालमा मेडिकल गरेर स्वस्थ प्रमाणित भई कामदारका रूपमा विदेश गएका नेपाली युवाको मृत्युको आँकडा भयावह देखिन्छ । विगत १० वर्षमा १० हजारभन्दा बढी नेपाली कामदारको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको तथ्यांक भेटिन्छ । यसरी हेर्दा प्रत्येक दिन लगभग तीनजनाको मृत्यु वैदेशिक रोजगारीका क्रममा भइरहेको र वैदेशिक रोजगारीका लागि नेपाली युवा बिदेसिने क्रम बढेसँगै यो संख्या अझ बढ्ने निश्चितजस्तै देखिन्छ ।
नियमित काम गरिरहेका र कुनै स्वास्थ्य समस्या नभएका कामदार सुतेको अवस्थामै मृत भेटिने गरेका छन् । जसलाई मेडिकल भाषामा ‘नोक्टर्नल डेथ’ भनिन्छ । सुतेको वेला वा अन्य अवस्थामा अचानक मृत्यु हुने कारणमा ‘हार्ट अट्याक’ (मुटुलाई रगत प्रवाह गर्ने रक्तनलीमा बोसो जम्ने र मुटुमैै रगतको कमी हुने अवस्था), कार्डियाक एरेस्ट (अचानक मुटुले काम गर्न बन्द गरेको अवस्था), स्ट्रोक (मस्तिष्कघात) र सिजर (छारे रोग) मुख्य रहेका छन् ।
यसरी स्वस्थ मानिस सुतेको र अचानक मृत्युको सम्भावना बढी हुने अवस्थामा अनियन्त्रित उच्च रक्तचाप, मुटुरोग, अनियन्त्रित मधुमेह, अत्यधिक मोटोपन देखिनु, अनियमित र अत्यधिक रक्सी सेवन गर्नु, रगतमा बोसोको मात्रा बढेको अवस्था हुनु, अत्यधिक परिश्रम गर्नु वा परिश्रम नै नगर्नु, लागुऔषध दुव्र्यसनमा फस्नु आदि कारण देखिन्छन् ।
विदेशमा रहेका नेपाली कामदारको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावित कारण निम्न देखिन्छन् : १. हरिया सागपात, फलफूलभन्दा माछामासु सस्तो हुने र नेपालीले माछामासुलाई अन्य खानेकुराभन्दा पौष्टिक आहारका रूपमा लिनु । २. पानीको सट्टामा पनि क्यालोरी र क्याफिन बढी भएका पेयपदार्थको प्रयोग अत्यधिक गर्नु । ३. अनियमित र अत्यधिक रक्सी सेवन गर्नु । ४. कुनै स्वास्थ्य समस्या देखिएमा भाषागत कारण वा हेलचेक्य्राइँ गरी परीक्षणका लागि चिकित्सककहाँ नजानु । ५. अत्यधिक गर्मी अथवा अत्यधिक चिसोमा असुरक्षित तरिकाले काम गर्नु । ६. अत्यधिक परिश्रम, आरामको कमी तथा तनावको सही व्यवस्थापन गर्न नसक्नु ।
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि महत्वपूर्ण केही १० सुझाव : १. धेरैजसो मृत्यु सुतेको अवस्थामा भएको देखिनाले बेलुकाको समयमा मुटुको धड्कनमा परिवर्तन गराउन सक्ने केही कार्यबाट बच्नुहोस् । जस्तै : बेलुकाको खाना हल्का र सजिलै पच्ने खालको रोज्नुहोस् । बेलुकाको खानामा माछामासु, भुटेको या तारेको खानेकुराको कम प्रयोग गर्नुहोस् । बेलुकाको खाना खाएको कम्तीमा एक घण्टापछि मात्र सुत्ने प्रयत्न गर्नुहोस् । २. अत्यधिक चिया, कफी खाने बानी छ भने कम गर्नुहोस् । ३. अनियमित र अत्यधिक रक्सीको सेवन नगर्नुहोस् । ४. खानामा प्रशस्त तरकारी, फलफूल, हरियो सागपातलाई समावेश गर्नुहोस् । ५. कोक, फेन्टाजस्ता क्याफिनयुक्त चिसो पेयपदार्थको प्रयोग घटाउनुहोस् । ६. धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्दै नगर्नुहोस् । ७. नियमित व्यायाम गर्नुहोस् र शरीरको वजनलाई सामान्य राख्नुहोस् । शरीरको वजन बढी छ भने कम क्यालोरी भएका खानेकुरा खानुहोस् । व्यायाम गरेर सामान्य ओजनमा आउने प्रयास गर्नुहोस् । ८. चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने र छाती दुख्नेजस्ता लक्षण छन् भने तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुहोस् । ९. रगतमा बोसोको मात्रा बढी छ भने खानपान र व्यायामको माध्यमबाट त्यसलाई घटाउनुहोस् । १०. उच्च रक्तचापमा रगतमा चिनीको मात्रा बढेको अवस्था खतरनाक हुने हुनाले खानपिन र जीवनशैली परिवर्तन गरी नियन्त्रण गर्नुहोस् र आवश्यक परे चिकित्सकको सल्लाहमा नियमित औषधिको सेवन गर्नुहोस् ।